पशुमैत्री पार्क निर्माण गर्दै मकवानपुरगढी गाउँपालिका

मकवानपुर, २८ माघ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पशुमैत्री पार्क निर्माण गर्ने भएको छ । गाउँपालिकाको वडा नम्बर ३ कालीखोला सामरीमा ७ करोड ३ लाख ७६ हजार कूल लागत अनुमान सहितको पशुमैत्री पार्क निर्माण गर्न लागिएको हो । स्थानीय, प्रदेश तथा केन्द्रिय सरकारको सहयोगमा निर्माण गर्ने गरी बहुवर्षिय योजना अन्तर्गत पार्कको निर्माण गरिनेछ ।

पार्क निर्माणका लागि चालु आव २०७७–०७८ को पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको स्विकृत कार्यक्रम अन्तर्गत पशुमैत्री पार्क स्थापना तथा संचालनको लागि १० लाख रुपैयाँ बजेट विनियोजन समेत भएको छ । बजेट विनियोजन भएसँगै पार्क निर्माणका लागि आज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र निर्देशनालयका निमित्त निर्देशक रामप्रकाश प्रधानबिच सम्झौता पत्र हस्तान्तरण भएको सूचना अधिकारी डाक्टर बब्लु ठाकुरले बताए । पार्क निर्माणको पहिलो चरण अन्तर्गत निर्देशनालयबाट १० लाख, गाउँपालिकाबाट १० लाख र समुदायबाट २ लाख ७८ हजार बराबरको निर्माण कार्य केही समयमै थालिने बताइएको छ ।

पार्कमा विभिन्न प्रजातिका गाई, भैँसी, बाख्रा लगायतको आकृति, तालिम केन्द्र, रमणिय बगैँचा, नमूना घाँसका प्रजाति, दाना उत्पादन केन्द्र, सहकारी भवन, पराल राख्ने स्थान, पानी ट्याङ्की, स्विमिङ पुल, चमेना गृह, पिकनिक स्थल, शौचालय, आराम स्थल, पदमार्ग लगायतका संरचनाहरु रहने गाउँपालिकाका प्रशासकिय अधिकृत पुडासैनीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*