नेकपा विवाद छिनोफानो नगरी चुनाव गर्न नमिल्ने : प्रचण्ड–नेपाल समूह

काठमाडौं फागुन २,–  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेकपा विवाद हल नगरी निर्वाचनको प्रक्रियामा अघि बढ्न नमिल्ने जिकिर गरेको छ ।

आचारसंहिताबारे छलफल गर्न भन्दै निर्वाचन आयोगले आइतवार बोलाएको बैठकमा प्रचण्ड–नेपाल पक्षका तर्फबाट सहभागी स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेकपाको विवाद समाधान नगरी निर्वाचनको प्रक्रिया अगाडि बढाउन नमिल्ने जिकिर गरेका हुन् । ६४ प्रतिशत मत रहेको दलको विवाद हल नगरी निर्वाचन आयोग अगाडि बढ्न सक्दैन, बैठकमा दलहरूका तर्फबाट शुरूमै आफूले राखेको धारणाबारे पत्रकारलाई जानकारी दिँदै पोखरेलले भने ।

आफूहरूले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसारको दाबी सहितको पत्र निर्वाचन आयोगमा बुझाए पनि अहिलेसम्म आधिकारिकतासम्बन्धी कुनै निर्णय नआएको उनले बताए ।आधिकारिकता दाबीका लागि ३० दिनको म्याद गुज्रिसकेको भनेर गरिएको दाबीका सम्बन्धमा पोखरेलले नेकपाको वास्तविक विवाद माघ १२ गते निर्वाचन आयोगले पत्र दिएपछिबाटै शुरू भएको जिकिर गरे ।

त्यसअघि बसेका केन्द्रीय समिति बैठक अध्यक्ष र महासचिवले बोलाएकै बैठकको निरन्तरता भएको बताउँदै पोखरेलले ४ सय ४१ केन्द्रीय सदस्यलाई मान्यता दिन्छौं भन्ने आयोगको निर्णय आएपछि एकताताकाको त्यही केन्द्रीय समितिको बहुमतका आधारमा आफूहरूले आधिकारिकता दाबी गरेको बताए ।

पार्टीको तर्फबाट शुरूमै धारणा राखेर पोखरेल बाहिरिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*