सरस्वतीको मुर्तिलाई रंगरोगन गर्न मुर्तिकारलाई भ्याइनभ्याइ

फागुन ३– विद्याकी देवी सरस्वती पूजाको एकदिन मात्रै बाँकी हुँदा मुर्तिकार (कालिगढ) लाई सरस्वतीको मुर्ति रंगरोगन गर्न भ्याइनभ्याइ छ। यतिबेला मुर्तिकारहरु सरस्वतीको मुर्तिलाई रंगरोगन गरि अन्तिम रुप दिन व्यस्त छन्।

परम्परा अनुसार माता सरस्वतीको पूजा गर्न अधिकांश सामुदायिक, निजी विद्यालय तथा शैक्षिक संघसंस्थाले मूर्ति नै स्थापना गरी पूजा अर्चना गर्ने गर्दछन्। मुर्ति रंग्याएर अन्तिम रुप दिन महोत्तरी जिल्लाको सम्सी गाउँपलिका–४ गढाभेटपुरका मूर्तिकार मिथिला बिहारी पण्डितका परिवार नै लागि परेका छन्।

डेढ महिनादेखि अर्डर तथा बिक्रीवितरणका लागि बनाएको साना ठूला गरी ३० वटा मुर्ति रंगरोगनमा उनका ५ छोरी र एक छोराले सघाइरहेका छन्।एउटा मुर्तिको मिहिनेत, आकार र लगानीअनुसार ५ हजारदेखि १५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनी बताउँछन्। सिजनमा विभिन्न देवी देउताको मुर्ति बनाएर वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको पण्डितको भनाइ छ।

पण्डितले कोरोना कहर र सीतलहरको कारण यसपटक कमै मात्र मुर्ति तयार गर्न सकेका छन्। परम्परागत पेशामा लागेका ५५ वर्षीय पण्डित १५ वर्षकै उमेरदेखि मुर्ति बनाउँदै आएका छन्। बाँस, पराल, माटो र रंगको संयोजन गरेर मूर्ति बनाउने गरिन्छ।यसपटक २० वटा सरस्वती माताको मुर्तिको अर्डर आएको उनले बताए। आकर्षक मुर्ति बनाउने गरेका कारण उनलाई सरस्वती पूजा आउनु दुई महिना अघिदेखि नै मुर्तिका लागि अर्डर आउने गरेको छ।

मुर्ति बनाउने कार्यमा श्रीमती, ५ जना छोरी र एक छोरा सबैले सघाउने गरेको पण्डितले बताए। मुर्ति रंग्याउन भने हुलाकी सडकको धुलोले समस्या हुने गरेको उनको गुनासो छ। ‘ हुलाकी सडकको धुलोले रंग लगाउन, मुर्ति सजाउन निकै गाह्रो हुन्छ। सडकमा पानी छर्किंदैनन्’ दलिनमा राखिएको मूर्तिमा रङ लागाउँदै उनले भने, ‘रंग लगाउने बेला धुलो पर्यो भने मुर्ति बिगार्छ। त्यसैले आँगन, दलिनमा राखेर जसोतसो रंगरोगन गर्नुपर्छ।’

सिजनमा मुर्ति बनाएर नै छोराछोरीको पढाइ लेखाइसहित घरको जोहो गर्ने गरेको पण्डित बताउँछन्। सिजनमा मुर्ति बनाउन ब्यस्त हुने पण्डित अन्य दिनमा पानीको कल गाड्ने काम गर्छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*