मुख्यमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन
फागुन ४, मकवानपुर । हेटौँडामा यही फागुन ६,७ र ८ गते ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा १६५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
मुख्यमन्त्री पौडेलको संयोजकत्वमा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, स्थानीय तहका जनप्रतिनिधिहरु र सुरक्षा निकायका प्रतिनिधिहरु रहने गरी मूल समारोह समिति गठन गरिएको हो ।
फागुन ७ गते विहान ७ः३० बजे स्थानीय भुटनदेवी माविको प्राङ्गणबाट निस्किएको झाकीसहितको र्यालीले हेटौँडा नगरको परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा आइपुगेपछि समारोहमा परिणत हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले जानकारी दिएका छन् ।
३ दिनसम्म संचालन हुने कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम, हेटौँडा बजारको सरसफाई, माध्यामिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता, सडक दौड तथा खेलकुद र विभिन्न विद्युतीय संचार माध्ययममा परिसंवाद् कार्यक्रमको आयोजना गरिने भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत पेशलकुमार पोखरेलले जानकारी दिए ।
























