खैराङको कालिका माविमा पूर्व विद्यार्थीहरुद्वारा सहयोग
मकवानपुर, ५ फागुन । श्री कालिका माध्यमिक विद्यालय खैराङ अठारेका पूर्व विद्यार्थी समूहले विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गरिरहेका १५ जना छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यालयले छनौट गरेको आधारमा जेहेन्दार, आर्थिक अवस्था कमजोर भएका र शारिरिक अपाङ्गता भएका १५ जना छात्रछात्राहरूलाई वसन्त पञ्चमी (सरस्वती पूजा) को अवसर पारेर शैक्षिक सामग्री वितरण गरिएको विद्यालयका पूर्व विद्यार्थी एवम् अभियान्ता धर्मराज स्याङ्तानले जानकारी दिए । समूहले प्रति विद्यार्थी एक थान स्कुल ब्याग, १५ थान कपी , एक दर्जन कलम, ज्यामितीय बक्स लगायतका शैक्षिक सामग्री वितरण गरेको थियो ।
गाउँको विद्यार्थीको लागि सोही विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको समूहले विद्यालयमा हाल अध्ययनरत विद्यार्थीहरुको मनोबल बढाउन सहयोग गरेको अभियान्ता हरि लोप्चनले जानकारी दिए । आफू पढेको विद्यालयको लागि आफूहरुको समूहले सहयोग गर्न पाउँदा निक्कै खुशी लागेको अर्का अभियान्ता गणेश कुमार नगरकोटीले बताए ।
विद्यालयका पूर्व विध्यार्थीहरू आयुष खड्का, धर्मराज स्याङ्तान, हरि लोप्चन, बालिका तामाङ, गणेश कुमार नगरकोटी, श्रीमान नेगी, सूर्य रूम्बा लगायतको टोलीले विद्यालयमै पुगेर शैक्षिक सामग्री वितरण गरेको हो ।अभियानको लागि कुनै समयमा सोही विद्यालयमा अध्ययन गरी हाल देश तथा विदेशमा रहेका पूर्व विद्यार्थी र अन्य सहयोगीहरूले समेत स्वैच्छिक सहयोग गरेका थिए ।
हाल अस्ट्रेलियाको सिड्नीमा रोजगारीको सिलसिलामा रहेका पूर्व विद्यार्थी रोशन लामाले अभियानका लागि सबैभन्दा बढी नगद २५ हजार रुपैयाँ सहयोग गरेका थिए । विद्यालयका लागि अगामी दिनहरूमा पनि यस्तै सहयोग र सहकार्य जारी राख्ने अभियान्ता धर्मराज स्याङ्तानले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
























