मकवानपुर उद्योग वाणिज्य संघमा बढ्यो चुनावी सरगर्मी
फागुन ५, मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी बढेको छ ।
चैत्रमा हुन गइरहेको ५४ औं वार्षिक साधारण सभा एवम् निर्वाचनमा अध्यक्ष पदमा दाबी गर्ने व्यवसायीहरु चुनावको तयारीमा जटेका छन् । अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका संघका वर्तमान उपाध्यक्ष कृष्ण कुमार गुप्ता (अग्रवाल) ले मंगलबार चुनावी प्रचारप्रसारका लागि हेटौंडामा सम्पर्क कार्यालय स्थापना गरेका छन् ।
अग्रवालले हेटौंडा उपमहानगरपालिका वडा नं १० स्थित भीमसेन मिनी मार्केटमा सम्पर्क कार्यालय स्थापना गरेका हुन् । मकवानपुर उद्योग वाणिज्य संघका पूर्व पदाधिकारीहरुको उपस्थितिमा अग्रवालले सम्पर्क कार्यालयको शुभारम्भ गरेका हुन् । उनले अबको केही दिनमा व्यवसायी लक्षित घोषणापत्र जारी गर्ने बताएका छन् ।
संघको अध्यक्ष पदको लागि अग्रवालसँगै वर्तमान वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपाने, निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने, निवर्तमान महासचिव महेन्द्र राउतले तयारी गरिरहेका छन् ।
























