सामरी खोलाको पुल निर्माण सुचारु
मकवानपुर, ५ फागुन । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र ६ जोड्ने सामारी खोलाको पुल निर्माण पुनः सुचारु भएको छ ।
लकडाउनका समयमा निर्माण कार्य रोकिएको पुल निर्माण कार्य अहिले भने धमाधम सुचारु भएको छ । नेपाल सरकारको लगानीमा उक्त पुल निर्माण सुरु भएको हो । हालसम्म ६० प्रतिशत कार्य सम्पन्न भैसकेको छ भने बाँकी ४० प्रतिशत कार्य अझै बाँकी रहेको छ । २ वर्षमा पूरा निर्माण सकिसक्नुपर्ने पुल ५ वर्ष सकिँदा पनि बनेको छैन । कोरोना भाइरसको कारण लकडाउन भएपछि १ वर्ष पुल निर्माण रोकिएको थियो । यसअघि पनि विविध कारणले गर्दा पुल निर्माण कार्य ढिला भएको गढीगाउँपालिका अध्यक्ष बिदुर हुममगाईले जानकारी दिनुभयो ।
पुल निर्माणका लागि नागर्जुन शंकर माली कम्पनीलाई जिम्मेवारी दिईएको छ । हालसम्म पुलको पिल्लर उठाइसकेको र अप्ठ्यारो कार्यहरु सम्पन्न भैइसकेको गढी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष जितबहादुर घिमिरेले बताउनुभयो । नागार्जुन शंकर माली कम्पनीका ठेकदार दिपक सापकोटाका अनुसार पहिले जिल्ला समन्वय समितिले ठेक्का लिएको थियो । पछि प्रदेश तह बनेपछि प्रदेश मातहतमा पुलको निर्माण हुने बताइएको थियो । प्रदेश मातहतमा पुगेपछि बजेट कताबाट आउँछ भन्दै कुर्दाकुर्दै ८–९ महिना कार्य रोकिएको र कामदारको ढिलासुस्तीले गर्दा पनि तोकिएको समयमा कार्य सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो ।
५ करोड ६३ लाख रुपैयाँको लगानीमा उक्त पुल निर्माण सकिने लक्ष्य राखिएको थियो । हालसम्म १ करोड ६६ लाख रुपैयाँ भुक्तानी भएको पनि ठेकदार सापकोटाले जानकारी दिनुभयो । अहिले आफै खटेर काम गरेको हुँदा आउँदो असारसम्म निर्माण कार्य सकाउने उहाँले बताउनुभयो । समयमा पुल नबन्दा लाभग्राहीहरुले सास्ती भोगेको धेरै समय भईसकेको छ । खोलामा आएको बाढीले बगाएर स्थानीयको मृत्यु पनि भइसकेकोछ । पुल नबन्दा तुईनको भरमा सामान ओसार–पसार गर्नुपर्ने बाध्यता रहेको स्थानियहरुले बताएका छन् ।
पुल निर्माण भएमा खोलाले बगाएर मरिने डर हट्ने कुरामा स्थानीयवासीहरु आसावादी रहेका छन् । पुल छिट्टै निर्माण भएमा तुईनबाट सामान ओसार्नुपर्ने बाध्यताबाट पनि मुक्त हुने स्थानीयवासीहरु बताउँछन् ।
























