भीमफेदीमा राष्ट्रपति रनिङशिल्डका लागि छनौट खेल हुँदै
भीमफेदी, ६ फागुन । राष्ट्रिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको पालिकास्तरीय छनौट खेल मकवानपुर जिल्लामा धमाधम आयोजना भइरहेको छ ।
यसैबिच भीमफेदी गाउँपालिकाले पनि फागुन ७ र ८ गते छनौट खेल आयोजना गर्ने तयारी गरेको छ । गाउँपालिकाले भीमफेदी सिमलटार खेल मैदानमा गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको छनौट खेल आयोजना गर्न लागेको स्रोतव्यक्ति गोबिन्द चौलागाईँले बताउनुभएको छ । विभिन्न विधामा भीमफेदी गाउँपालिकाका ८ वटा माध्यमिक विद्यालयबाट ३ सय २० बालबालिकाले खेलमा सहभागिता जनाउने अपेक्षा गाउँपालिकाले राखेको छ ।
गाउँपालिका अध्यक्ष हिदम लामाको संयोजकत्वमा खेल आयोजक समिति गठन गरी सम्पुर्ण आवश्यक तयारी समेत गरिएको छ । खेलका लागि सम्पुर्ण विद्यालयहरूलाई जानकारी गराइसकेको बताइएको छ ।
























