जिल्लामै पहिलो पटक राक्सिराङले बनायो स्थानीय पाठ्यपुस्तक

मकवानपुर, फागुन ९ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेको छ ।

आगामी शैक्षिक सत्रदेखि राक्सिराङका सबै विद्यालयका कक्षा–१ देखि ५ कक्षासम्मका विद्यार्थीले गाउँको सेरोफेरोको विभिन्न विषय समेटिएको पुस्तक ‘मेरो राक्सिराङ’ अध्ययन गर्न पाउनेछन् । पाठ्यपुस्तकमा गाउँका पर्यटकीय स्थल, गाउँपालिकाको भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक अवस्थिति, ऐतिहासिक स्थलबारे जानकारी, हावापानी, कृषि तथा त्यसको सम्भावनालगायतको बारेका ज्ञान समेटिएको छ ।

त्यसैगरी गाउँपालिकाको सार्वजनिक महत्वको क्षेत्र, चट्याङ, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको सम्भाव्य क्षेत्र र त्यसको कारण, चेपाङ जातिले मनाउने चाढपर्व, उनीहरुका रहनसहन, भेषभुषा, भाषा, संस्कृति, गाउँपालिका भित्र रहेका खोला नालालगायतको बारेमासमेत विद्यार्थीले अध्ययन गर्न पाउनेछन् ।

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै गाउँपलिकाले पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको हो । गाउँपालिका ४ वटा विद्यालयमा नमूना कार्यक्रमको रुपमा यसै शैक्षिक सत्रदेखि कक्षा–१ देखि ५ कक्षासम्म नै स्थानीय पाठ्यपुस्तक पठनपाठन सुरु भइसकेको छ । खैराङको कालिका मावि, सिलिङ्गेको राष्ट्रिय मावि, सरिखेतको सूर्योदय मावि र चैनपुरको प्रजा कल्याण आधारभूत विद्यालयमा ‘मेरो राक्सिराङ’ पढाई सुरु भएको हो ।

आगामी शैक्षिक सत्रदेखि गाउँपालिकाको सबै ५२ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म ऐक्षिक अंग्रेजी विषयलाई हटाएर स्थानीय पाठ्यपुस्तकको पढाई सुरु हुने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । स्थानीय पाठ्यक्रममा सिमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको गाउँपालिकामा चेपाङ समुदायको बारेमा करिब ३५ प्रतिशतभन्दा बढी ज्ञानवद्र्धक सामाग्री समेटिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को ज ९४० मा मातृ भाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमनसम्बन्धी व्यवस्था गरी स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सकिने उल्लेख छ । त्यस्तै दफा ११ ९ज० १८ मा स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरणको कुरा उल्लेख गरिएको छ । कानुनी अधिकारको प्रयोग गरी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरी लागू गर्न लागिएको गाउँपालिकाका शिक्षा शाखाका अधिकृत प्रदिप पराजुलीले जानकारी दिए ।

पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा जापानको शान्ति भोलेन्टियर्स एशोसिएसन र समुन्नत नेपाल दातृ संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । पाठ्यपुस्तक निर्माण भएसँगै सबै विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई शिक्षणसम्बन्धी तालिमसमेत दिइएको छ । गत माघ १ गतेदेखि चितवनको सौराहामा विभिन्न चरणमा गरिएको तालिम शुक्रबार सकिएको हो । सामुदायिक विद्यालयका ५२ जना प्रधानाध्यापक र करीब ९५ जना विषयगत शिक्षक शिक्षिकाहरुलाई तालिम दिइएको समुन्नत नेपालका कार्यक्रम संयोजक तथा प्रशिक्षक युवराज लौडारीले जानकारी दिए ।

तालिम समापन समारोहमा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिम्डुङ, जिल्ला शिक्षा समन्वय इकाई मकवानपुरका प्रमुख कृष्णप्रसाद पौडेल, गाउँपालिकाका शिक्षा अधिकृत प्रदीप पराजुली, शान्ति भोलेन्टियर्स एशोसिएसनका कन्ट्री डाईरेक्टर ताका फूमि मियाके, समुन्नत नेपालका कार्यक्रम संयोजक तथा प्रशिक्षक युवराज लौडारी लगायतको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*