खोप दिनुभयो धन्यवाद, लोकतन्त्रलाई समर्थन होस्– प्रचण्ड

९ फागुन, काठमाडौं । भारतले नेपाललाई लाखौं डोज खोप उपलब्ध गराएकोमा नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई भारतजस्तो लोकतान्त्रिक देशले समर्थन नगर्ने विश्वाससमेत प्रचण्डले व्यक्त गरेका छन् । पुस ५ मा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि दुई महिनायताको राजनीतिक घटनाक्रमबारे अनलाइनखबरसँग संश्लेषणात्मक अन्तरवार्ताका क्रममा अध्यक्ष प्रचण्डले नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतले विगतदेखि नै साथ सहयोग दिँदै आएको स्मरण गरे ।

नेपालमा लोकतन्त्रका लागि आवाज उठाउनेहरुलाई राजा महाराजाहरुकै पालादेखि ‘अराष्ट्रिय तत्व’ र ‘भारतीय दलाल’को संज्ञा दिने ‘सामन्ती राष्ट्रवाद’ हावी रहेको बताउँदै प्रचण्डले अहिले त्यो सामन्ती राष्ट्रवादको प्रतिनिधित्व केपी ओलीले गरिरहेको बताए । दुई महिनायता संसद विघटनविरुद्ध आन्दोलनका क्रममा प्रचण्डले अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आएका छन् । लोकतान्त्रिक देशहरुले नेपालमा लोकतन्त्रको पक्षमा समर्थन गर्ने उनले दाबी गरेका छन् ।

गत माघ २८ गते काठमाडौंमा आयोजित आमसभाबाटै प्रचण्डले भनेका थिए, ‘सबै अन्तरराष्ट्रिय हाम्रा मित्रदेशहरु, खासगरी हाम्रा छिमेकी, संसारकै सबभन्दा ठूलो हाम्रो लोकतन्त्र भन्ने छिमेकीबाट योबेलामा हामीले सबै संसारभरिका लोकतान्त्रिक मूल्य मान्यता राख्नेहरुबाट सहयोग र सदभाव चाहेका छौं । दायाँ–वायाँ हुने छैन भन्ने भरोसामा छौं हामी ।’

पछिल्लो राजनीतिक घटनाक्रमबारे अनलाइनखबरसँग कुराकानी गर्दै प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई कोरोना रोकथाममा गरेको सहयोगप्रति धन्यवाद दिँदै नेपालको लोकतन्त्रको पक्षमा उभिइदिन आग्रह गरे । साथै, उनले भारतलाई हेर्ने मामिलामा केपी शर्मा ओली ‘सामन्ती राष्ट्रवाद’को पक्षमा रहेको र आफू ‘प्रगतिशील राष्ट्रवाद’को पक्षमा उभिँदै आएको जिकिर गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*