प्रदेश १ को हिउँदे अधिवेशनको बैठक आज बस्दै
हेटौंडा, फागुन ९ – प्रदेश १ प्रदेशसभाको सातौँ एवं हिउँदे अधिवेशनको तेस्रो बैठक आइतबार बस्दैछ। गएको माघ ७ गते डाकिएको बैठक सत्तारुढ दल नेकपाभित्रको विवादका कारण माघ २५ हुँदै आइतबार पुनः बस्नलागेको हो।
नेकपाभित्रको तीव्र विवादका कारण यसअघिका दुवै बैठक अवरुद्ध रहेका थिए । माघ ७ गतेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको पत्र पढेर २५ गतेसम्मका लागि स्थगित गरेका थिए। नेकपाभित्र देखिएको चरम असन्तुष्टिसँगै सभा अघि बढ्न नसक्ने देखिएपछि सभामुख भण्डारीले १८ दिनका लागि स्थगित गरेका थिए।
तर, माघ २५ गते सत्तारुढ दलका नेताहरुले सदनभित्रै असन्तुष्टि र अवरोध गरेपछि फागुन ९ गतेसम्मका लागि सभामुख भण्डारीले सदन स्थगित गरेका थिए । मुख्यमन्त्री शेरधन राईविरुद्धमा अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवायलमा दर्ता हुँदै सदनको कार्यसूचिमा रहेको छ। सोही कारण मुख्यमन्त्री राई पक्षले माघ २५ गतेको सदन अवरुद्ध गरेका थिए । नेकपाभित्रको लडाईँकै कारण गएको एकमहिनादेखि प्रदेशसभा अनिर्णयको बन्दी बन्दै आइरहेको छ।
सोही क्रममा आइतबार बस्ने भनिएको बैठक समेत अवरुद्ध गर्नेमा मुख्यमन्त्री राईको पक्ष लागि परेको छ। अविश्वास प्रस्ताव दर्ता भएपछि सत्ता लम्ब्याउने कसरत गरिरहेको आरोप मुख्यमन्त्री राईलाई नेकपाकै दाहाल नेपाल पक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाउँदै आएको छ । मुख्यमन्त्री राईले यसअघि प्रस्ताव अघि बढाइए प्रदेशसभा नै भंग गर्ने चेतावनी दिइसकेका छन्।
उनको पक्षबाट नेकपा प्रदेश सभाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्रीविरुद्धको प्रस्ताव फिर्ता भएमात्र प्रदेश सभा सञ्चालन गराउन सकिनेकुरामा आफूहरु अडिग रहेको बताउँछन् । वैधानिक रुपमा संसदीय दलको विधी विधानअनुसार प्रदेशसभा सदस्यलाई गरिएको निलम्बन र कारबाहीलाई सभामुख प्रदीपकुमार भण्डारीले कार्यान्वयनमा लैजानुपर्नेमा उनको जोड छ ।
अर्कोतर्फ, दाहाल नेपाल पक्षका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव दर्ता भएदेखि नै सत्तापक्ष प्रदेशसभाको बैठक लम्ब्याउने खेलमा लागेको आरोप लगाए । आङ्बोले सत्ता पक्षले अविश्वासको प्रस्ताव टेबल गर्न नदिएर अलोकतान्त्रिक चरित्र देखाइरहेको बताए । प्रदेश सभामा कुल ९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसको २१, जनता समाजवादी पार्टीका तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका समान १ जना प्रदेशसभा सदस्य छन् ।
























