वडाध्यक्षलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलायो
फागुन १०, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ का वडाध्यक्षलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएको छ ।
गाँजा नष्ट गरेर फर्किएको प्रहरी टोलीमाथि अभद्र व्यवहार गरेको भन्दै वडाध्यक्ष कान्छालाल रुम्बालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरी आइतबार मुद्दा चलाएको हो । गाँजा नष्ट गरेर फर्किएको प्रहरी टोलीमाथि अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरी मुद्दा चलाइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक शिवराज गुरुङको कमाण्डमा इलाका प्रहरी कार्यलय नेवारपानीसहित खटिएको ११ जनाको संयुक्त प्रहरी टोलीले शनिबार राति राक्सिराङ गाउँपालिका १ गाल्छाराङको बारीमा लुकाएर राखेको १८ क्विन्टल गाँजा जलाएर नष्ट गरेको थियो। प्रहरी गाँजा जलाएर फर्कने क्रममा बाटो छेकेको भन्दै वडाध्यक्ष रुम्बालाई पक्राउ गरेर गरेको थियो। रुम्बालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको जनाइएको छ ।
कुपिनटारको सडकमा स्थानीयको अवरोधपछि प्रहरीको काम कारबाहीमा बाँधा पुर्याउनुका साथै प्रहरीमाथि हातपात भएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो ।
























