मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास हुँदै
फागुन १०, मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर १३ र १४ मा स्थापना गर्न लागिएको मयुरधाप औद्योगिक क्षेत्रको फागुन १४ गते शिलान्यास गरिने भएको छ ।
नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्ने भएका छन् । कूल १९९.१२ बिगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र फैलिएको छ ।
२०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार मयुरधापको ३ सय विगाहा क्षेत्रफलमा फैलिएको खाली जग्गामा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय भएपनि २०७३ बैशाख १२ गतेको मन्त्रिपरिषद् बैठकले क्षेत्रफल घटाएर १ सय ३४.८६ हेक्टर (१ सय ९९.१२ बिगाह) क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको हो ।
७ देखि १४ रोपनीको आकारमा ६२ वटा औद्योगिक प्लट रहने सो औद्योगिक परिसरमा करीब ५ दर्जन बढी उद्योग प्लान्ट रहने जनाईएको छ । करीब ७ अर्ब २ करोड ३४ लाख रुपैयाँ लागत अनुमान गरिएको सो औद्योगिक क्षेत्र सञ्चालनपछि करीब १० हजार जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।
























