प्रतिनिधिसभा विघटनविरूद्ध मुद्दाको फैसला जुनसुकै बेला आउन सक्ने

फागुन ११, काठमाडौँ– दुई महिनाको बहसपछि प्रतिनिधिसभा विघटनविरूद्ध परेको मुद्दा ‘हेर्दाहेर्दै’ मा पेसी तोकिएको छ ।

फागुन ७ गते सबै बहस सकिएपछि इजलासले दुबै पक्षका वकिललाई फागुन १० गतेसम्म बहसको नोट बुझाउन दिएको समयावधि पनि सकिएपछि सर्वोच्चले आज मुद्दाको पेसी ‘हेर्दाहेर्दै’ मा तोकेको हो ।

इजलासको आदेशअनुसार सोमबार अधिवक्ताहरूले बहस नोट बुझाएका छन् । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधसभा विघटन गरेपछि ६ गते नै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

उक्त मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको इजलासले सुनुवाइ गरेको थियो ।

उक्त मुद्दामा रिट निवेदक र सरकारी पक्षको बहस केही दिनअघि सकिएको थियो। त्यसपछि रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेका थिए। इजलासलाई राय दिन गठन गरिएको एमिकस क्युरीका पाँच सदस्यहरूले पनि आफ्नो राय दिएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दामा बहस सकिएसँगै जुनसुकै समय फैसला आउन सक्ने बताएका थिए । ‘हेर्दाहेर्दै’ सकिएको अवस्थामा फागुन ११ गते अर्थात आज मंगलबार नै पनि फैसला आउन सक्ने राणाले बताएका थिए।

फैसलाको अन्तिम तयारीमा अदालत जुटेसँगै सबैको ध्यान सर्वोच्चतिरै केन्द्रित हुन थालेको छ । पाँच सदस्यीय संवैधानिक इजलासमा सकेसम्म एउटै रायमा निर्णय सुनाउने प्रयास हुनेछ । त्यसो हुन नसकेमा बहुमत न्यायाधीशहरूको रायका आधारमा फैसला सुनाइनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*