प्रधानमन्त्री ओलीले तुरुन्तै राजीनामा दिनुपर्छ – वामदेव गौतम
फागुन १२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढिला नगरी तुरुन्त राजीनामा दिनका लागि आग्रह गरेका छन् ।
संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै विभिन्न ३ मागहरु राखेका छन् । सर्वोच्चको निर्णयलाई स्वागत गर्दै राष्ट्रपतिले संसद अधिवेशन बोलाउने, प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिने र नेकपाको स्थायी कमिटीको बैठक बोलाउनुपर्ने माग राखेका हुन् ।
नेकपा एकता अभियानका संयोजक समेत रहेका गौतमले बुधवार एक विज्ञप्ति जारी गर्दै फागुन ११ लाई शहीदहरुको बलिदानीबाट प्राप्त उपलब्धीहरुको रक्षा भएको दिनको रुपमा स्मरण गरेका छन् ।
त्यस्तै स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान क़ानून लोकतंत्र र जनताको सर्वभौमिकताले पुनर्विजय भएको बताउँदै प्रधानन्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
“आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान क़ानून लोकतंत्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो।
यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु।” उपाध्यक्ष गौतमले भने ।
























