आज पशुपतिमा सुनको जलहरि राखिँदै

१२ फागुन, काठमाडौं । विवादका बीच आज पशुपतिनाथको मूल शिवलिंगको जलहरिलाई सुनले ढाकिँदैछ । यसअघि ढाकिएको जलहरिको चाँदी ठाउँठाउँमा छेद भएर नयाँ फेर्नुपर्ने माग आएको थियो ।

तर पशुपति क्षेत्र विकास कोषले चाँदीको ठाउँमा सुनले ढाक्ने निर्णय गरेको हो । बुधबार दिउँसो ११ बजेर ४५ मिनेटमा सुनको जलहरि राख्ने तयारी रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । सुनको जलहरि राख्ने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी हुँदैछिन् ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाउने निर्णय गरिसकेको छ ।  कोषका अनुसार जलहरिको लागि १०८ केजी सुन लाग्ने अनुमान छ । बसाहा र छानामा समेत गर्दा १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

तर शास्त्रीय मान्यता एवं परम्परा अनुसार सुन लक्ष्मीको प्रतीक भएकाले शिवलिंगको जलहरिमा सुनको साटो चाँदी राख्ने चलन छ । यो परम्परा विपरीत सुनको जलहरि राख्न लागेको भन्दै स्थानीय एवं सम्पदाप्रेमीहरुले यसको विरोध गरिरहेका छन् ।

सुनको जलहरि राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दायर भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*