‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन नगर्नुस् भनेको थिएँ, मान्नुभएन’– नेम्बाङ
फागुन १२, काठमाडौँ — संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन नगर्न सुझाव दिएको बताएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापनाका पक्षमा फैसला सुनाएको भोलिपल्ट बुधबार नेम्बाङले आफूले पहिले नै प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटन राजनीतिक र कानुनी रुपमा सही नहुने सुझाव दिएको बताएका हुन् ।
संसद्को अधिवेशन अदालतले दिएको निर्धारित समयमै आह्वान हुन्छ। त्यसपछाडिको राजनीतिक परिदृश्य कस्तो हुन्छ। हामी सम्बद्ध सबै पक्षसँग छलफलमा छौुं, उनले भने, हाम्रो एउटै चिन्ता मुलुकमा फेरि राजनीतिक अस्थिरता, असैद्धान्तिक र नीतिहीन गठबन्धन, विगतका जस्तै कारणबाट संसदीय व्यवस्थाप्रति वितृष्णा बढ्ने नहोस्, मुलुकले लिएको बाटो अवरुद्ध नहुने गरी सबै पक्षसँग छलफल गर्छौं।
























