नायक पल शाहविरुद्ध कुटपिट गरेको आरोपमा उजुरी
हेटौंडा, फागुन १४– नायक पूर्णविक्रम शाह ‘पल शाह’ र उनका सहायक कृष्णप्रसाद जोशीविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा कुटपिटको उजुरी परेको छ।
म्यूजिक भिडियोको छायांकनका क्रममा धरान पुगेका शाह र जोशीले नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानलाई हातपात गरेको उजुरी परेको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। बुधबार धरानकै एक होटलमा खाना खाने क्रममा आफूमाथि कुटपिट भएको भन्दै प्रधानले बिहीबार दिउँसो प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।
उजुरीमा नायक शाह र उनका म्यानेजर जोशीले कुटपिट गरेको उल्लेख छ। कुटपिटको उजुरी परेसँगै प्रहरीले दुवै पक्षलाई शुक्रबार दिउँसो १ बजे छलफलका लागि कार्यालयमा बोलाएको बस्नेतले जानकारी दिए। घटनाबारे नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा नायक शाहको चलचित्र धरानमा पूर्ण रुपमा रोक लगाउने चेतावनी दिइएको छ।
घटनाको भत्सर्ना गर्दै महासंघले नायक शाह र उनका सहयोगी जोशीले प्रहरी कार्यालयमा लिखित रुपमा माफी माग्नुपर्ने जनाएको छ। प्रधानका अनुसार फागुन १२ गते पल शाह र उनका दुई सहयोगी जोशी र अर्जुन चन्द धरानको एक होटलमा राति करिब साढे ९ बजे खाना खाने क्रममा विवाद भएको हो।
नायकसहितको टोलीलाई स्वागत गर्नेक्रममा फोटो खिच्दा जोशीले अभद्र व्यवहार गर्दै फोटो खिच्न नदिएको प्रधानको आरोप छ। खाना खाने क्रममा शाहलाई प्रधानले शनिबार हुने ‘प्रदेश १ मा नेपाली चलचित्रको प्रभाव’ कार्यक्रममा सहभागिताको निमन्त्रणा दिएका थिए। तर, शाह र उनका सहयोगी जोशीले सहभागी नहुने बताएपछि विवाद चर्केको हो।
लगत्तै केही युवाहरु होटेलमा जम्मा भएको तर आफूहरु संयमित हुँदा ठूलो दुर्घटना नभएको प्रधानले बताएका छन्। यता नायक पल शाहका म्यानेजर जोशीले भने आफूहरुलाई दुर्व्यवहार भएको बताएका छन्। गीत छायांकनका लागि धरान पुगेका आफूहरुले अरु कुनै कार्यक्रममा सहभागी नहुने बताएपछि दुर्व्यवहार भएको जोशीले बताए।
‘ए यो भाइ ठूलो भएको, म यसको नाम हटाइदिन्छु भन्दै औला ठड्याएर कुरा गर्न थालेपछि सामान्य विवाद भएको हो’, जोशीले भने, ‘मैले तपाईँको बोल्ने तरिका यही हो भनेर सोधेको थिएँ।’
























