बेतखोल्सी सामुदायिक वनको साधारण भेला सम्पन्न
मकवानपुर, १५ फागुन । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित बेतखोल्सी सामुदायिक वन उपभोक्ता समूहको २० औँ वार्षिक साधारण भेला शनिबार सम्पन्न भएको छ । बेतखोल्सी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वासुदेव प्याकुरेलको सभाध्यक्षतामा सम्पन्न भेलामा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष लक्ष्मण भण्डारीको विशिष्ट आतिथ्यता रहेको भेलामा बोल्दै प्रमुख अतिथि, विशिष्ट अतिथिका साथै सब डिभिजन वन कार्यालयका वन प्राविधिक सरिश्मा अधिकारीले सामुदायिक वनको महत्व तथा वन संरक्षणमा सबैको सकरात्मक पहल हुनुपर्नेमा धारणा राखेका थिए ।
भेलामा अध्यक्ष वासुदेव प्याकुरेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष अच्युतम पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन सचिव लक्ष्मी अधिकारीले सञ्चालन गरेकी थिईन् । कार्यक्रममा ज्येष्ठ नागरिक वन उपभोक्ता सदस्यहरु दिला कुमारी नेपाल र फटिकबहादुर न्यौपानेलाई १ हजार रुपैयाँ नगद र सम्मान पत्र सहित सम्मान गरिएको थियो । त्यस्तै सामुदायिक विद्यालयमा अध्ययनरत प्रशंसा अधिकारीले विशिष्ट श्रेणी ल्याएको भन्दै भेलामा उनलाई सम्मान पत्रसँगै शैक्षिक सामग्री समेत प्रदान गरिएको थियो । प्रशंसा उभोक्ता समूहका एक सदस्यकी छोरी हुन् । कार्यक्रममा पूर्व कार्यसमिति सदस्यहरु रामकृष्ण ढकाल, रामचन्द्र दाहाल, दीर्घराज पौडेल, लक्ष्मी अर्याल, असलीमाया स्याङ्तान र सूर्यबहादुर स्याङ्तानलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
हेटौँडाको दक्षिण भागमा रहेको बेतखोल्सी सामुदायिक वनले ३५.९७ हेक्टर क्षेत्रफल ओगटेर हरियाली सौन्दर्य प्रदान गरेको छ । समूहले स्थापनाकालदेखि नै सामाजिक कार्यमा सक्रियता देखाउँदै आएको छ ।
























