प्रचण्ड–माधव समूहले स्थायी र केन्द्रीय कमिटि बैठक तत्कालै बोलाउने
फागुन १७, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले स्थायी र केन्द्रीय कमिटि बैठक बोलाउने भएको छ।
आज बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले तत्कालै स्थायी कमिटि र केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय गरेको हो। तर बैठकको मिति भने तय भइसकेको छैन। विकसित पछिल्ला घटनाक्रमहरुबारे छलफल गर्न दुवै कमिटिका बैठक डाक्ने निर्णय सचिवालय बैठकले गरेको हो।
सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी र केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। त्यसैगरी बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति अनुरोध गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘पार्टीको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा पार्टीको स्थायी र केन्द्रीय कमिटिको बैठक छिट्टै बोलाउने निर्णय गरेको छ । र साथसाथै निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धीमा हामिले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि हामिले अनुरोध गरेका छौँ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सतेचत देव गुरुङलाई हटाउने स्वेच्छाचारी निर्णय गरेको भन्दै सो कुरा मान्य नहुने प्रवक्ता श्रेष्ठले बताए।
























