खर्च र जोखिम कम गराउने उदेश्यले गाउँ गाउँमा अल्ट्रासाउन्ड – अध्यक्ष लामा
फागुन १९,हेटौंडा/भीमफेदी गाउँपालिका वडा नम्बर ८ की २१ बर्षिय एलिना वाईबाको प्रसुती हुने दिन नजिकिदै छ । यहि फाल्गुनको २१ गते प्रसुतीहुने मिति तोकिएको छ । गर्भवती हुँदा ४ महिना पछि हरेक दुई महिनाको अन्तरमा स्वास्थ्य जाँच गराउन पर्छ । भिडियो एक्स रे लगाएतका सबै परिक्षणहरु गर्न आवश्यक पर्छ । त्यसको लागि आफूले कुनै पनि प्रकारको झन्झट व्यहोर्न नपरेको वाईबाको अनुभव छ ।
गर्भ अवस्था देखि नवजात शिशुलाई गर्न पर्ने स्याहार तथा गर्भवतीको जाँच लगाएका कुनै कार्यमा पनि एलिना पछि परेकी छैनन् । किनकी भीमफेदी गाउँपालिकाले प्रत्येक वडामा सुत्केरीहरुको हरेक प्रकारको परिक्षण तथा उपचारहरु गर्देै आइरहेको छ । गाउँकै स्वास्थ्य सेवा केन्द्रमा भिडियो एक्सरे गरेँ । नियमित उपचार त छँदैछ अझ अल्ट्रासाउन्डको पनि व्यवस्था रहेछ, अब ३ दिन मात्र बाँकी छ प्रसुती हुने मिति पुग्नलाई । यहीको स्वास्थ्य संस्थामा प्रसुती गराउन सकिन्छ भनेर डाक्टरहरुले भनेका छन्, उनले भनिन् ।
गाउँमै सेवा पाउँदा गर्भवतीहरुलाई निकै सजिलो भएको उनको भनाइ छ । उनले भनिन् : काठमाण्डौं, हेटौंडा जान परेको भए गाह्रो पनि हुन्थ्यो । सवारीमा आउजाउ गर्न समस्या हुन्थ्यो । खर्च पनि लाग्थ्यो । धेरै सजिलो भएको छ । बिशेषगरी महिलाको स्वास्थ्यको बिषमा पालिकाले गरेको कामले हामीलाई निकै फाइदा भएको छ । वाईवा जस्तै सोही पालिकाका सपना मगर पनि निकै उत्साहित देखिन्छिन् । मगर ३ महिने गर्भवती हुन् । उनलाई स्वास्थ्यमा समस्या देखा परेपछि जाँच गर्नको लागि स्वास्थ्य चौकीमा आइन् । चेकजाँच गर्दा पाठेघरको मुखमा बच्चाको साल बेरिएको भन्ने रिर्पोट आयो ।
तर उनलाई निकै डर लागेको थियो । किनकी अब थप उपचारको लागि अन्त जानपर्ने भयो भन्ने । तर उनको उपचार उक्त स्वास्थ चौकीमा नै सफल भयो । उनले भनिन् : सबै सुविधा निशुल्क छ । हामी पैसा नभएकाहरुलाई निक फाइदाजनक भएको छ । मेरो उपचारको लागि काठमाण्डौं अथवा हेटौंडा जान परेको भए अस्पतालमा निकै खर्च आउँछ भन्ने चिन्ता लागेको थियो । तर सजिलै यही उपचार भयो ।
भीमफेदी गाउँपालिकाले चालु आर्थिक बर्ष २०७७/७८ मा वजेट छ्ट्याएर गर्भपरिक्षणमा सुविधा दिन सुरुवात गरेको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो । गर्भअवस्था भनेको महिलाहरुको लागि जोखिमपुर्ण अवस्था हो । त्यसैले सुविधा होस् भन्ने उदेश्यले अन्य परिक्षण सँगै अल्ट्रासाउन्ड समेत निशुल्क उपलब्ध गराउन थालेका छौं । स्थानिय बासिन्दाहरु घर दैलोमा नै सेवा पाउँदा निकै खुसी छन् ।
आर्थिक बर्ष २०७७/७८ बाट सुरु भएको यो योजनामा असोज महिना देखि फाल्गुन सम्ममा ९४ जना गर्भवतीहरुले सेवा लिइसकेको गाउँपालिकाका स्वास्थ्य शाखाका अधिकृत रामनाम थिले जानकारी दिनुभयो । हरेक २ महिनामा अल्ट्रासाउन्ड गर्ने गरेका छौं , उनले भन्नुभयो। उनले भन्नुभयो: गाउँपालिकाको ९ वडा मध्ये ८ वटा वडामा स्वास्थ्य केन्द्रहरु छन् । त्यहाँबाट दैनिक सेवा सँगै गर्भवतीहरुको लागि बिशेष अल्ट्रासाउन्डको सुविधाले धेरै जना लाभान्वित भएका छन् भीमफेदी गाउँपालिकामा १ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ४ वटा हेल्थपोष्ट, ३ वटा आधारभुत स्वास्थ्यकेन्द्र छन् ।
सो स्वास्थ्य केन्द्रहरुबाट बिरामीहरु तथा गर्भवती जाँच, भिडियो, एक्सरे तथा अल्ट्रासाउन्ड लगाएतका परिक्षणहरु निशुल्क रुपमा गरिन थालिएको छ
























