बाधा अवरोधका बीच सरकारले तीव्र गतिमा विकास गरिरहेको छ – प्रधानमन्त्री
हेटौंडा, फागुन २० – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारको प्रयासले विगत तीन वर्षमा आश्चर्यजनक प्रगति गरेको बताएका छन्।
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बिहीबार सिन्धुलीमा शिलान्यास गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। उनले विभिन्न बाधा अवरोधका बीच सरकारले तीव्र गतिमा विकास गरिरहेको बताए।धरहरा ठडिएको छ, रानी पोखरी तयार भएको छ।
झापामा मैले एकै दिन पाँचवटा पक्की पुल उद्घाटन गरेँ। ३१ वटा पुलको त शिलान्यास नै गरेर फर्किएको छु, उनले भने, सन्थाल जातिका लागि २३२ वटा घर निर्माणको शिलान्यास गरेँ। यी तीन वर्षमा देशले आश्चर्यजनक प्रगति गरेको छ।
ओलीले देशभर गत मंसिर १५ मा ३०९ वटा अस्पतालको शिलान्यास एकै चोटी भएको बताउँदै तीव्र गतिमा काम भइरहेको स्पष्टिकरण दिए। देशको राजनीतिको चिन्ता नलिनुस्, उनले भने, देशले विकासको फड्को मार्दैछ। अब हिजोका जस्तो दुस्खका दिन गए।
सरकारले विकासको नेतृत्व गरेको छ, चिन्ता लिनुपर्दैन।
























