नेकपा बदरसंगै बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणीको सरकार बलियो
फागुन २४, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादमा सर्वोच्च अदालतको आदेशपछि बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणी पौडेलको सरकार बलियो देखिएको छ ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रभित्र नेकपा एमालेको एकल बहुमत छ। बागमती प्रदेशमा नेकपा एमालेका ५७ प्रदेशसभा सदस्य छन्। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम गरी ऋषि कट्टेलको कम्युनिष्ट पार्टीलाई वैधानिकता दिएपछि प्रदेशसमेत तरंगित बन्न पुगेको छ ।
खासगरी नेकपाभित्रको विवादबीच आएको सर्वोच्चको फैसलाले पूर्वएमाले र पूर्वमाओवादीबीचको ध्रुवीकरण अब प्रस्टसँग हुने विश्लेषण हुन थालेको छ । बागमती प्रदेशमा नेकपाका ११० जना प्रदेशसभा सदस्य रहेका थिए । जसमा ४५ जनाले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। तर नेकपा बदरसंगै वागमती प्रदेशमा मुख्यमन्त्री पौडेलको सरकार बलियो देखिएको छ ।
बागमती प्रदेशमा नेकपा एमालेका ५७ प्रदेशसभा सदस्यमा एमालेले समानुपातिकतर्फ १६ सिट र प्रत्यक्षतर्फ ४२ मतसहितको बहुमत पाएको थियो। भक्तपुरको उपनिर्वाचनमा कांग्रेसले एक सिट बढाएको थियो। बागमतीमा नेकपा माओवादी केन्द्रले १५ प्रत्यक्ष र आठ समानुपातिक गरी २३ सिट पाएको थियो । त्यस्तै नेपाली कांग्रेस आठ प्रत्यक्ष र १४ समानुपातिक गरी २२ सिटसहित तेस्रो दल छ।
समानुपातिकबाट विवेकशील साझाको तीन सिट रहेको छ भने एक प्रत्यक्ष र एक समानुपातिक गरी नेमकिपाको दुई सिट छ। समानुपातिकबाट राप्रपाका दुई र नयाँ शक्तिबाट उम्मेदवार बनेका एक जना स्वतन्त्र सांसद छन्। प्रदेशमा नेकपा एक नहुँदा एमाले बलियो देखिएको हो। अहिले एमालेका माधव नेपाल पक्षका सांसदलाई माओवादी सांसदको साथ रहे पनि अर्को सरकार बन्ने अवस्था छैन।
























