नेपाली कांग्रेसले बोलायो पदाधिकारी बैठक
काठमाडौँ, २८ फागुन । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
शुक्रबार अपरान्ह तीन बजे सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा पदाधिकारी बैठक बोलाइएको हो।
कांग्रेस सहमहामन्त्री डा. प्रकाश शरण महतले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक डाकिएको जानकारी दिए।
उनका अनुसार पदाधिकारी बैठकलगत्तै जनता समाजवादी पार्टीका नेताहरुसँग पनि कांग्रेसले छलफल गर्ने कार्यक्रम तय छ।
यो छलफल पनि देउवा निवासमै हुने छ। जसपा र कांग्रेसबीच नयाँ सरकार गठनका सम्बन्धमा कुरा हुने भनिएको छ।
जसपाले सरकार गठनबारे नेकपा एमालेसँग पनि वार्ता गरिरहेको छ।
जसपाले रेशम चौधरीको रिहाई, मधेश आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता, पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित छानबिन आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संशोधन लगायतका माग उठाउँदै आएको छ।
प्रतिनिधिसभा पुनःस्थापना भएपछि नयाँ सरकार गठन हुने कि ओली नेतृत्वकै सरकारले निरन्तरता पाउने भन्ने अन्योलता कायम रहेकै बेला संसदमा निर्णायक बनेको जसपाले सबैसँग छलफल गरेर आफ्ना माग सम्बोधन गर्ने पक्षसँग मिलेर सरकार बनाउने निर्णय मंगलबारको संसदीय दलको बैठकमार्फत गरेको थियो।
ओली नेतृत्वकै सरकारमा सहभागी हुने कि कांग्रेस र माओवादीसँग मिलेर नयाँ सरकार बनाउने भन्ने विषयमा जसपाभित्र मतान्तर छ।
पूर्व राजपा पक्ष ओली नेतृत्वकै सरकारमा जानु पर्ने बताइरहेको छ भने अर्को पक्ष ओलीलाई कुनै हालतमा सहयोग गर्न नहुने अडानमा छ।
























