एमालेलाई थप सशक्त बनाउने आजको बैठकको साझा निष्कर्ष हो –महासचिव पोखरेल

चैत २, काठमाडौँ — उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सोमबार धुम्बाराहीमा शीर्ष नेताहरुबीच पार्टीलाई व्यवस्थित र एकताबद्ध बनाएर लैजाने विषयमा छलफल भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच एमालेलाई थप सशक्त बनाउने विषयमा कुराकानी भएको महासचिव पोखरेलले दाबी गरे ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले पार्टीलाई जेठ २ गतेकै अवस्थामा पुऱ्याएको उल्लेख गर्दै पोखरेलले भने, ‘अदालतको फैसलापछि नयाँ परिस्थिति सिर्जना भएको छ । आजको बैठकमा तीनै कुरामा छलफल भयो । अदालतको फैसलापछि नेकपा एमालेलाई पुनर्जीवन प्राप्त भएको छ ।

हामी २०७५ साल जेठ २ गतेको अवस्थामा पुऱ्याएको छ ।’ पुनर्जीवन प्राप्त गरेको नेकपा एमालेलाई थप व्यवस्थित कसरी बनाउने र एकताबद्ध बनाएर लैजाने भन्ने विषयमा नेताहरुबीच छलफल भएको पनि पोखरेलको भनाइ थियो ।

‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबै नेताहरुले यस विषयमा छलफल गऱ्यौँ । अबका प्रयासहरु एमालेलाई थप सशक्त बनाउन पहल प्रयत्नहरु केन्द्रित हुन्छन् ।’

फागुन २८ गते ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकको निर्णयप्रति नेपाल समूहले आपत्ति जनाएको विषयमा भने महासचिव पोखरेलले भने, ‘२८ गते मात्रै होइनन्, यसअघि कात्तिक २३ गतेको आरोपपत्र, अर्याल होटेलमा भएका छलफललगायतका विषयमा पनि समीक्षा हुन जरुरी छ ।

यसबीचमा अनेक बैठकहरु भएका छन्, त्यसबारेमा पनि कुरा उठेको छ । तर नेकपा एमालेलाई थप सशक्त र एकताबद्ध बनाएर लैजाने भन्ने बैठकको साझा निष्कर्ष हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*