मकवानपुरमा ४ वटा प्रहरी भवन नयाँ बन्दै
चैत ३, हेटौंडा । मकवानपुरमा दुईवटा प्रहरी कार्यालयका नयाँ भवन निर्माण भएर उद्घाटन् गरिएको छ । मकवानपुरको बकैयामा रहेको हात्तिसुढे प्रहरी भवन र मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंम्बर ९ स्थित नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ ।
अरु चारवटा प्रहरीका भवन निर्माणाधिन अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो । मकवानपुरको डाँडाखर्क, ठिंगन, जिल्ला ट्राफिक प्रहरी र रातोमाटेमा प्रहरीका लागि भवन निर्माण हुँदै गरेको उहाँले जानकारी दिनुभयो । वषौ पहिले देखि जिर्ण भवनमा निकै कष्टका साथ बस्दै आएका प्रहरीलाई अब भने सहज हुने भएको छ ।
तर, अझै ६ वटा प्रहरीका भवन अत्यन्तै जिर्ण अवस्थामा रहेको र भाडाका घरमा कष्टका साथ बस्नुपर्ने बाध्यता रहेको छ । हेटौंडाको वडा प्रहरी कार्यालय, चौकीटोलमा रहेको प्रहरीचौकी भाडाका घरमा बसेको छ । यसमा निकै कठिनाइ भोग्नुपरेको छ । यसैगरी हेटौंडाको पशुपतिनगर, बसपार्क, भीमफेदी, पालुङ, भैसेमा रहेको प्रहरीको भवन अत्यन्तै जिर्ण अवस्थामा रहेको एसपी राठोरले जानकारी दिनुभयो ।
जिर्ण रहेका प्रहरीका भवनमा निकै कठिनाइका साथ प्रहरीले काम गर्न बाध्य भएका छन् । यसैगरी हिजो आन्तरिक मामिला तथा कानून मन्त्रालयको एक करोड १८ लाखको सहयोगमा नवनिर्मित प्रहरी चौकी राक्सिराङ कान्द्राङको भवनको एक कार्यक्रमकाबिच आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेशका सचिव मदन भुजेलले उद्घाटन गर्नु भएको छ ।
कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राज कुमार मल्ल, प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, उप–अनुसन्धान निर्देशक लिलाधर पौडेल, पत्रकार र स्थानियहरुको उपस्थिती रहेको थियो ।
























