श्रीमानले गरे श्रीमतीको हत्या
चैत ३, काठमाडौं – श्रीमानले श्रीमतीको हत्या गरी बोरामा प्याक गरेर फालेको अवस्थामा भेटिएको छ । काठमाडौंस्थित बल्खुको सुकुम्बासी बस्तीमा श्रीमानले श्रीमतीको हत्यापछि शव बोरामा प्याक गरेर फालेको अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
सोमबार साँझ काठमाडौंको बल्खु पुल नजिकैको सुकुम्बासी बस्तीमा बोरामा पोको पारेको अवस्थामा ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको शव फेला परेको थियो । बोराबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
काठमाडौंकै जोरपाटी माइती भएकी सन्तोषीले सन्तोष सापकोटासँग अन्तरजातिय विवाह गरेकी थिइन्। उनीहरुले बल्खुमा फर्निचर व्यवसायसमेत सञ्चालन गर्दै आएका छन्। पछिल्लो समय सम्बन्ध बिग्रिएपछि सन्तोषीले पतिसँग सम्बन्ध विच्छेदको माग गर्दै आएको आफन्तहरुले बताएका छन्।
टाउकोमा हथौडाले प्रहार गरेर उनको हत्या गरिएको प्रहरीले जनाएको छ। श्रीमान सन्तोष सापकोटा भने घटनापछि फरार भएका छन्।अहिले घटनास्थलमा आफन्त आउँदै छन्। सुकुम्बासी बस्तीमा टहरा बनाएर बसेका उनीहरुको घरचाहिँ मकवानपुर हो। मृतक श्रेष्ठको शव टिचिङ अस्पताल लगिएको छ । यसबारे थप विवरण आउन बाँकी छ।
























