नयाँ सरकार गठन टाढा नरहेको प्रचण्ड भनाइ
हेटौंडा, चैत ५ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठन टाढा नरहेको बताएका छन् । सरकारको नेतृत्व कसको हुन्छ भन्ने विषयमा दलहरुबीच छलफल भइरहेकाले सहमतिमै नयाँ प्रधानमन्त्री बन्ने अध्यक्ष दाहालले बताए ।
अध्यक्ष दाहालले प्रधानमन्त्रीको आलोपालो नेतृत्वको लागि आफ्नो दल र कांग्रेसबीच छलफल भइरहे पनि निष्कर्षमा नपुगेको बताए । ‘कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिएर नयाँ सरकार बनाउने चर्चा पनि चलिरहेको छ ’, उनले भने, ‘पहिले पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गरी निर्वाचन सम्पन्न गराएकै हो ’
यस्तै, उनले केन्द्र सरकार फेरबदलको टुंगो नलागेसम्म प्रदेशमा पनि सरकार फेरबदल नहुने बताए । ‘केन्द्रमा जबसम्म सरकार फेरबदलको टुंगो लाग्दैन, तबसम्म प्रदेशमा पनि सरकार फेरबदल भइहाल्छ जस्तो मलाई लाग्दैन’, उनले भने ।
संविधान र परिवर्तनलाई सिध्याएरै छाड्ने प्रधानमन्त्री केपी ओलीको दुस्साहस कुनै हालतमा पूरा नहुने भन्दै अध्यक्ष दाहालले त्यसकाविरुद्ध जुनसुकै स्तरको संघर्ष गर्न तयार रहेको बताए ।
























