सुस्मिता हत्या सम्बन्धि मुद्धाको सुनुवाईका लागि आज पेशी
चैत ९, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ को सुर्यचोककी सुस्मिता थापाको हत्यासम्बन्धी मुद्धाको पेशी आज (सोमबार) को लागि तोकिएको छ ।
जिल्ला अदालत मकवानपुरले चैत ९ गते सोमबारको लागि मुद्धाको सुनुवाईका लागि पेशी तोकेको श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । सुस्मिताको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले गएको असार १५ गते ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा, जेठि नन्द दुर्गा कार्की,कान्छी नन्द सिता थापालाई पक्राउ गरेको थियो ।
सुस्मिताको ससुरालाई भीमफेदी कारागारमा राखिएको छ भने अन्यलाई चितवनको भरतपुर कारागारमा राखिएको छ । सुस्मिता हत्यासको मुद्धाको बहस गरिरहेका अधिवक्ता मदन दाहालले सुस्मिताको हत्याको पुष्टि भइसकेको र हत्यामा संलग्न विरुद्धको बहस सकिएकाले मुद्धाको फैसला छिटै हुने बताए । सुस्मिताको पक्षमा अधिवक्ता दाहाल सहित २० जना कानून व्यवसायीले बहस गरेका छन् ।
हेटौंडा–४ स्थित सुर्यचोककी सुस्मिताको हत्या गत असार १ गते राति आफ्नै घरमा भएको थियो । सुस्मिताको हत्यामा परिवारकै संलग्नता रहेको अनुसन्धानबाट खुलेपछि परिवारका सदस्यहरु पक्राउ परेका थिए ।
























