४० वर्ष पछि घर आइपुगेका दिपक आमाको अगाडी बोल्न सकेनन्

चैत ९, इलाम । ४० वर्ष देखि भारतीय जेलमा जीवन बिताइरहेका दिपक तिम्सिना आइतवार घर आइपुगेका छन् ।

इलामको फाकफोकथुम गाउँपालिका पूख्यौली घर भई हाल माईनगरपालिका १० का दिपक तिम्सिना घर आईपुगेका हुन् ।शनिबार जेलमुक्त भएपछि आईतबार घरमा आईपुगेका हुन । कोलकातास्थित ‘दमदम सेन्ट्रलमा ४० वर्ष बिताएका दिपक आमाको अगाडी केहप् बोल्न सकेनन् ।

४१ वर्षपछि छोरा भेट्दा खुसी बनेकी धनमायाँ छोरो नबोलेपछि चकित परिन् । दिपकका भाई प्रकाशले गाडीमा आएकाले विरामी भएको भनेर आमालाई थुम्थुम्याए । ‘मेरो छोरो यस्तो त थिएन के भएको हो थाहा पाइन ।’ आमाले भनिन् । दिपकले आमाको लागि ल्याएको मिठाई प्रकाशको सहयोगले आमालाई खुवाए ।

तर, दिपक बोल्न सकेनन् । ४१ वर्षपछि भेट भएको छोरो नबोलेपछि धनमायाले भनिन्, ‘बिरामी छ कि क्या हो, फोक्से मासु लागेको हो कि के भएको ।’ उनले विगत स्मरण गर्दै भनिन्, ‘कमाउन जान्छु भनेर हिँडेको मान्छे बल्ल फर्कियो, हलो जोत्दाजोत्दै हिँडेको थियो, सबैतीर खोज्यौँ, भेटिएन, अहिले बल्ल आयो ।’

भजित प्रकाशचन्दतर्फ हेर्दै उनले भनिन्, ‘एक महिनाभित्र ल्याउँछौँ भनेर कतिले भने–भने, तर यसले मात्रै ल्यायो । यसले बोलेको पूरा ग¥यो यसले पनि ल्याउँदैन कि भन्ने लागेको थियो, बाटो हेर्दाहेर्दा बल्ल लिएर आयो ।’

इलामको तत्कालीन एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा ९ हाल फाकफोकथुम गाउँपालिका का २० वर्षे दीपक २०३७ साल माघमा मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न भनी हिँडेका थिए । त्यसयता घर नफर्केका उनी जिउँदै छन् या छैनन् भन्ने पनि परिवारलाई थाहा थिएन ।

उनी सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका भनिए पनि यो आरोप प्रमाणित भएको छैन । उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ । जाहेरीमा उल्लेख भए अनुसार दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिएपनि दाइलाई फसाउन फर्जी जाहेरी दिएको भाइ प्रकाश बताउँछन ।

दाजु आए बैनी पविमायालाई पत्तै छैन

४० वर्ष पछि दाजु दिपक आएपछि दिपककी कान्छी बहिनी पविमायालाई भने कुनै पत्तै छैन । हराएको मान्छे भेटेर घर ल्याउँदै गर्दा घर भरि छिमेकी भएपनि पविमायालाई भने के हो भन्ने पत्तै थिएन । दाजु आउँदा घरभरी मान्छे थिए तर उनलाई केहो भन्ने केहि पत्तो थिएन ।

उनको मानसिक सन्तुलन अस्वस्थ बनेको कारण दिन भरी घर बस्तिनन । घर भन्दा केहि तल अम्लिसो बारिको भित्तामा चुलो बनाएर त्यहि खाना पकाएर खाने र त्यतै बस्ने गर्दछिन । उनलाई भेट्न त्यहा पुग्दा कोहिबेला उनी भाग्छिन त कोहिबेला सामान्य गफ गर्छिन । तपाईको दाजु आउँदैछ नि भन्ने प्रश्नमा उनले मलाई थाहा छैन भनिन ।

घरमा ल्याएपछि दिपकको उपचारमा समस्या

४० वर्ष पछि घर आउन पाएका दिपक तिम्सििनालाई घरमा ल्याएपछि झन समस्या हुने देखिएको छ । दिपकको मानसिक स्वास्थ्यमा समस्या भएको कारण घरमा समस्या देखिएको हो । दिपकका कान्छो भाईका छोरा गोपाल भन्छन ‘यति लामो समय पछि ठूलो बुबा देख्न पाउँदा खुसि छु तर भोलिका दिनमा उपचारको अभावका कारण झन समस्या हुँने चिन्ता छ ।’

गोपाल भन्छन ‘म ठूलोबुबाको लागि आफ्नो पढाई छोडेर भएपनि गर्छु तर उपचारको छागि कँहिबाट सहयोग भए हुनेथियो ।’ धनमाया तिम्सिनाको कोखबाट ८ जना जन्मिए । ५ छोरा र ३ छोरी जन्माएकी धनमायाँको साथमा दुई छोरी र दुई छोरा छन । दुई छोरा र दुई छोरीमध्ये दुवै छोरा र एक छोरी मानसिक रोगी छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*