कृषि व्यवसायमा रमाउँदै डुम्रेकुनाका सिंहबहादुर

मकवानपुर, १० चैत । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ स्थित डुम्रेकुनाका सिंहबहादुर सापकोटा कृषि व्यवसायमै रमाईरहनुभएको छ ।

सापकोटाले ‘ज्योति कृषि फर्म’ संचालन गरी कृषि व्यवसाय गर्दै आईरहनुभएको छ । उहाँले अर्गानिक विधीबाट मौसमी तथा बेमौसी तरकारी र फलफूलहरुको उत्पादन गर्दै आइरहनुभएको छ । पहिले अरुको जग्गा कमाएर कृषि व्यवसाय सुरु गर्नुभएका सापकोटा अहिले आफ्नै जग्गामा व्यवसाय गर्दै राम्रो लाभ उठाइरहनुभएको छ । आफुलाई कृषिकार्यबाट निक्कै सन्तुष्ट मिलेको उहाँ बताउनुहुन्छ ।

मेहनती किसानका रुपमा चिनिनुभएका सापकोटालाई कृषिकर्ममै लागिरहन केही हौसला स्वरुप सहयोग पनि पाउनुभएको छ । उहाँलाई हालसम्म कृषि ज्ञान केन्द्रबाट ७ लाख रुपैयाँ र गढीगाउँपालिका बाट २ लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । खेत खन्नको लागि गाउँपालिकाबाट ट्याक्टर अनुदान स्वरुप प्राप्त भएको उहाँले बताउनुभयो । सबै तरकारी खेती मध्येमा गोलभेँडाबाट राम्रो फाइदा हुने गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६ लाख लगानी गरेर गरिएको गोलभेँडा खेतीबाट मल, बीउ र बाँकी खर्च कटाएर हाल करिब ३ लाख रुपैयाँसम्म फाइदा उठेको उहाँले बताउनुभयो । उहाँले साउनमा रोप्नुभएको गोलभेँडा असोजको सुरुमा नै बजारमा ल्याउन सफल हुनुभएको छ । अरु तरकारीको तुलनामा गोलभेँडामा कम रोग लाग्ने भएकोले यस बाट अलि फाइदा उठाउन सकिने उहाँले बताउनुभयो ।

आफ्नै खेतमा खेतिपाति गर्नपाउँदा उहाँ निक्कै खुशी हुनुहुन्छ । उहाँले खशी व्यक्त गर्दै भन्नुभयो, ‘अर्काको खेत कमाएर आज आफ्नै खेतमा ठूलो खेती गर्दै आइरहेको छु, अर्काको नुनपानी खानुभन्दा आफ्नै खेतमा कृषि गर्नुको मज्जा नै छुट्टै छ ।’,

‘आफ्नै व्यवसाय भएपछि कहिँकतै जानलाई रोकतोक नहुने, आफ्नै करेसाको अर्गानिक तरकारी खान पाइरहने र पैसाको पनि अभाव नहुने भएपछि निक्कै खुशी छु’, उहाँले भन्नुभयो । उहाँले ५ गठ्ठा जमिनमा टनेल र बाँकी १ बिगाहा फिलमा तरकारी लगाउँदै आउनुभएको छ । कृषि ज्ञान केन्द्रबाट ५० प्रतिशत सहयोग आएको उहाँले बताउनुभयो ।

अर्गानिक खेती गर्नको लागि उहाँले गड्यौला खेति पनि गर्दै आउनुभएको छ । १० वटा गाई पाल्ने योजनाले १२ लाख रुपैयाँ खर्च गरि फलामको गोठ निर्माण समेत गरिसक्नुभएको छ । अर्गानिक तरकारी फलाउने लक्ष्यका साथ १० वटा गाई पनि पाल्न लागेको उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*