नेकपा एमालेको नेपाल समूहको केन्द्रीय समिति बैठक जारी
चैत १३, काठमाडौँ – सत्तारूढ नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ। कलंकीस्थित एक पार्टी प्यालेसमा बैठक जारी छ।
प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकअघि नेपाल समूहको केन्द्रीय समिति बैठक बसेको हो। नेपाल समूहको आजको बैठकले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गर्ने निर्णय गर्ने बताइएको छ।
अपरान्ह तीन बजे बालुवाटारमा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। उक्त बैठकमा नेपाल समूहमा रहेका सांसदहरु पनि सहभागी हुने छन्। तर नेता नेपालले भने आफू सहभागी नहुने बताएका छन्। शुक्रबार बिहान माधवकुमार नेपाल र झलनाथ खनालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य भेटवार्ता गरेका थिए।
कोटेश्वर स्थित महादेवस्थानमा रहेको एक व्यवसायीको घरमा खनाल–नेपाल र प्रचण्डबीच गोप्य वार्ता भएको हो। तीनजना नेताहरुबीच बिहान साढे ८ बजेदेखि पौने १० बजेसम्म भेटवार्ता भएको हो।
























