न्यायाधीश प्रस्तावित सुवेदीको योग्यता नपुगेको भन्दै परेको रिटमा निर्णय हुँदै
चैत ३०, काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीश प्रस्तावित नहकुल सुवेदीको योग्यता नपुगेको भन्दै परेको रिटमा अदालतले आज निर्णय सुनाउँदैछ ।
सर्वोच्च अदालतको न्यायाधीश सिफारिस सुवेदीको सर्वोच्चमा न्यायाधीस हुन योग्यता नपुग्ने भएकाले नियुक्ति गर्न नहुने माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए ।
सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीमा निसु तोकिएको छ । सर्वोच्चले सुवेदीको योग्यता नपुग्ने ठहर गरेमा उनको सर्वोच्चको न्यायाधीश हुने बाटो रोकिने छ । संसदीय सुनुवाइ समितिमा समिति सुवेदीविरूद्द योग्यताको प्रश्न उठाउँदै उजुरी परेको छ ।
सर्वोच्च अदालत नेपाल बार एसोसिएसनले समेत सुवेदीलाई सर्वोच्चको न्यायाधीश बनाउन योग्यता नपुग्ने भन्दै आफ्नो धारणा सार्वजनिक गरिसकेको छ ।
न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालतका न्यायाधीश मध्येबाट कुमार चुँडाल र सुवेदीको नाम सिफारिस गरेको थियो । मुख्य रजिस्ट्रार हुँदै उच्च अदालतको न्यायाधीश बनेका सुवेदीको सिफारिस भने विवादित बन्न पुगेको छ ।
























