धरहराको उद्घाटन वैशाख ११ गते हुने तयारी

चैत ३१, काठमाण्डौ – आउँदो वैशाख ११ गते नेपालको ऐतिहासिक सम्पदा धरहराको उद्घाटन गर्ने तयारी थालिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापना कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको उद्घाटनबारे जानकारी गराउनु भएको हो ।

उहाँले भूकम्प सङ्ग्रहालयलगायत संरचनाको पुनःनिर्माण गर्न बाँकी रहे पनि प्रतीकका रुपमा रहेको धरहराको आउँदो वैशाख ११ गते उद्घाटन गरिने बताउनु भएको हो । सम्पदाका मौलिक एवं आकर्षक कलाकृति जोगाउन भूकम्पपछि प्रवलीकरणको प्रविधि भित्रनु सुखद् विषय भएको उहाँको भनाइ थियो।

भूकम्पले भत्किएका ९३ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न हुन लागेको ज्ञवालीले बताउनुभयो । भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था, ८०० किमी सडक पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

जिल्ला समन्वय समिति काठमाण्डौका प्रमुख शिवसुन्दर राजवैद्यले उपत्यकामा स्वबासी, सुकुम्बासी र सार्वजनिक जग्गामा बसेका कारण पुनःनिर्माणले गति लिन नसकेको बताउनुभयो।

टीआई नेपालका अध्यक्ष पद्मनी प्रधानाङ्गले ५९ महिने कार्यक्रमका अवधिमा नीति निर्माण, योजना कार्यान्वयन र अनुगमनमा काम गरेको सुनाउनुभयो । भूकम्प अति प्रभावित १४ जिल्लामा सञ्चालित कार्यक्रम अवधिमा ५१ हजार व्यक्ति प्रत्यक्ष रुपमा संलग्न भएका छन् ।

यस्तै टीआई नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले भूकम्पपछिको पुनःनिर्माणमा सदाचार कार्यक्रम सकिए पनि भ्रष्टाचार विरुद्ध सदाचार अभियानबाट पुनःनिर्माणका कामको विषय भने निरन्तर अनुगमन गरिने बताउनुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*