हेटौंडा सहित मुख्य सहरका विद्यालय वैशाखभर बन्द
बैशाख ६, हेटौंडा । सरकारले वैशाखभर कोभिड १९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले कोरोना संक्रमण जोखिमका कारण वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरजस्ता सहर र सदरमुकाममा भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म अनलाईन कक्षा संचालन गर्ने निर्णय गरेको छ ।
यसैगरि मन्त्रिपरिषद बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो ।
यसैगरि मन्त्रिपरिषद बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नदिने,रात्रिकालीन व्यवसाय पनि बन्द गर्ने,रातको समयमा डान्सबार, दोहोरी साँझ लगायतलाई बन्द गर्ने,मन्दिरमा नित्यपूजा बाहेक अन्य पूजापाठ र भीडभाड हुन नदिने निर्णय गरेको छ ।
नेपालमा हालसम्म २ लाख ८४ हजार ६ सय ७३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएकोमा हालसम्म २ लाख ७५ हजार ३ सय संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोनाको कारण ३ हजार ८३ जनाको मृत्यु भएको छ ।
























