प्रदेश २ को नाम मिथिला–भोजपुरा हुनुपर्ने भन्दै कांग्रेसद्वारा प्रदेशसभामा प्रस्ताव दर्ता
बैशाख ९, जनकपुरधाम– प्रदेश २ को नाम मिथिला–भोजपुरा हुनुपर्ने भन्दै नेपाली कांग्रेसले प्रदेशसभामा प्रस्ताव दर्ता गराएको छ। बिहीबार कांग्रसले प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ हुनुपर्ने प्रस्ताव दर्ता गराएको प्रदेशसभाका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।
कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले प्रदेशको नामकरण ‘मिथिला भोजपुरा’ हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका हुन्। उनको प्रस्तावको प्रदेशसभा सदस्य मन्जु कुमारी र प्रमिला देवी दासले समर्थन गरेकी छन्।
त्यस्तै राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै पार्टीका प्रमुख सचेतक उपेन्द्र प्रसाद कुशवाहाले प्रस्ताव दर्ता गराएका छन्। उनको समर्थन प्रदेशसभा सदस्य नरेश कुमार यादव र विरेन्द्र प्रसाद सिंहले गरेका छन्।
कांग्रेसले पछिल्लो पटकसमेत प्रदेशको नाम मिथिला–भोजपुरा र राजधानी जनकपुरधाम प्रस्ताव दर्ता गराएको थियो।त्यस्तै प्रदेश २ को सत्तारुढ दल जनता सामाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले प्रदेशको नाम ‘मधेश प्रदेश’ प्रस्ताव दर्ता गराएका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रदेशको नाम जानकी दर्ता गराएका छन्।
प्रदेशको राजधानी भने सत्तारुढ दल जसपा, नेकपा ऐमाले, नेकपा माओवादी र कांग्रेसले जनकपुरधाम नै दर्ता गराएका छन्।
प्रदेशसभामा कुल १०७ सांसद रहेका छन् जसमा माओवादी केन्द्रले आफ्नो चारजना सांसदलाई पदमुक्त गरिसकेको छ। हाल सत्तारुढ दल जसपासँग ५६, नेकपा एमालेसँग २१, नेपाली कांग्रेससँग १९ र माओवादी केन्द्रसँग ७ जना सांसद रहेका छन्।
प्रदेशको राजधानी र नामाकरण पारित गर्नको लागि दुई तिहाईको आवश्यकता हुने भएपनि कुनै पार्टीसँग दुई तिहाई छैन।
प्रदेशसभा सचिवालयले आज तीन बजेसम्म प्रदेशको राजधानी र नामाकरणको लागि प्रस्ताव दर्ता गराउन आह्वान गरेको थियो।
























