भीमफेदी–कुलेखानी सडक आजदेखि बन्द
बैशाख १०, हेटौंडा । हेटौंडादेखि काठमाण्डौ जोड्ने भीमफेदी–कुलेखानी सडक डेढ महिनाका लागि बन्द गरिएको छ । उक्त सडक पिचका लागि वैशाख १० गतेदेखि जेठ २५ गतेसम्मका बन्द गरिएको हो ।
भीमफेदी–कुलेखानीको सडक फराकिलो पार्ने काम सकेर अहिले भने स्लाब ढलान र पीच गर्ने काम गर्न लागिएको हो । सडकका धेरै स्थानमा यसअघिनै स्लाब ढलान समेत गरिएको छ । अब भने सडकमा पीच गर्न लागिएको बागमती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।
यसअघि दुर्इ महिनासम्म सडक बन्द गरेर मोड र अप्ठेरो स्थानमा स्लाब ढलान गरिएको थियो । यस सडकको ८० प्रतिशतको काम सकिएको छ । भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि १८ करोड रुपैयाँ तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि १६ करोड रुपैयाँगरी ३४ करोड बजेट विनियोजन भएको थियो ।
भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ । मदनभण्डारी राजमार्ग अन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको यातायात पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।
























