परराष्ट्रमन्त्री ज्ञवाली बालुवाटारबाट बैठक सुरु नहुँदै बाहिरिए
बैशाख १०, काठमाण्डौं – बालुवाटारमा नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक सुरु हुन सकेको छैन। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजेका लागि बैठक बोलाएका थिए।
११ बजे बोलाइएको बैठक साढे ११ बजेसम्म पनि सुरु हुने तरखर छैन। बैठकमा लागि बालुवाटार आएका केही एमाले नेता तथा सांसदहरु बाहिर तिरैगफगाफमा व्यस्त देखिन्छ। कोही सेल्फी खिचिरहेका छन् ।
बैठकका लागि आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बालुवाटारबाट बाहिरिएका छन्। बैठक सुरु नहुँदै उनी किन बाहिरिए भन्ने खुलेको छैन। ज्ञवाली साढे ११ बजे बालुवाटारबाट बाहिरिएका छन्। एमालेको माधव नेपाल पक्ष यस बैठकमा पनि सहभागी नहुने अडानमा छ।
एमालेका पदाधिकारीको पद खोसी ओलीले आफूखुसी महाधिवेशन आयोजनक कमिटी बनाउनु पार्टीको विधानविपरीत भएको जिकिर नेपाल पक्षको छ। सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी पार्टी ब्यूँताइदिएपछि गत फागुन २८ ओलीले आफू आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक डाकी पार्टीमा महत्वपूर्ण हेरफेर गरेको थिए।
अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारीको पद खोसेका थिए। केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटी बनाउने, माओवादीबाट एमालेतिर लागेकालाई केन्द्रीय सदस्य बनाउने जस्ता निर्णय ओलीले गरेका थिए।
एमालेको नेपाल पक्षले भने फागुन २८ का निर्णय आफूहरुलाई मान्य नहुने, पार्टीलाई माओवादीसँगको एकता भन्दा अघि २०७५ जेठ २ कै अवस्थाबाट अघि बढाउनु पर्ने माग राख्दै आएको छ।
























