बालुवाटारको बालुवामा तेल छैन – नेपाल
बैशाख १०, जनकपुर — नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले वायुपंखी घोडा चढ्दा पार्टी र लोकतन्त्र संकटमा परेको बताएका छन् ।
शुक्रबार जनकपुरधामस्थित नेकपा पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले प्रधानमन्त्री ओलीको भड्काउ चिन्तनले कम्युनिस्ट आन्दोलन धरापमा परेको बताए ।
‘पार्टी फुट्न नदिन पटक–पटक भेटघाट गरे पनि ओलीको हठका कारण सफल हुन सकिएन,’ नेपालले भने, ‘बालुवाटारको बालुवामा तेल छैन । बालुवा जति पेले पनि तेल निस्किने अवस्था छैन । छलफल र भेटघाटमा ओली आफनो दम्भबाट पछाडि हट्न चाहेन ।’
पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन भेटघाट भए पनि छलफल सकारात्मक हुन नसकेको उनले बताए ।अरुलाई सुन्न तयार नहुने ओलीमा ‘खाए खा नखाए घिच’ प्रवृत्ति हावी नेपालको आरोप थियो ।
‘केपी ओलीको दम्भ कठामाडांैको नवनिर्मित धरहराको उकालो चढ्दै छ,’ नेपालले भने,‘ओलीको भड्काउ चिन्तले पार्टी, मुलुक, लोकतन्त्र संकटमा परेको छ । ओलीका कारण लोकतान्त्रिक आन्दोलन संकटमा परेको छ ।’ त्यस्तै पार्टीमा आफू अल्पमतमा परेपछि बाटोमा हिँड्नेलाई समातेर ओलीले केन्द्रीय सदस्य बनाएको नेपालको भनाइ थियो ।
‘अल्पमत परेपछि ओलीले बाटो हिँड्ने बटुवालाई केन्द्रीय सदस्य बनाएका छन्,’ नेपालले भने,‘बटुवालाई केन्द्रीय सदस्य बनाउन थालेपछि बालुवाटारनजिक भएर बटुवा बाटो हिँड्नै छोडे ।’
























