मकवानपुरमा अक्सिजन सहितको आईशोलेसनको ब्यवस्था
बैशाख १४,हेटौँडा । कोभिड–१९ (कोरोना भाईरस) को दोश्रो लहरले नेपाललाई समेत प्रभाव पार्न थालेपछि मकवानपुर जिल्लामा भने अक्सिजन सहितको आइसोलेसन वार्डको तयारी सुरु भैसकेको छ ।
मकवानपुरको १० स्थानीय तहमध्य ८ वटा तहमा अक्सिजन सहितको आईसोलेशनको ब्यवस्थापन भैसकेको र एक स्थानीय तहमा भने अबको एकहप्ता भित्र स्थापना भैसक्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए ।
आज कोभिडको सन्र्दभमा मकवानपुरको तायरबारे भएको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख खुलालले कोरोना संक्रमण रोक्न करिब तयारी पुरा भएको बताए । उनले दोश्रो लहर अझ तिब्र गतिमा फैलिएको हँदा स्वास्थ्य सावधानी अपनाउन पनि आम नागरिकलाई आग्रह गरेका छन् ।
कोरोनाको संक्रमणमा परेकाहरुलाई आइसोलेशनमा राख्नको लागि हेटौँडा उपमहानगरपालिकाले १ सय २० बेडको आइसोलेशन वार्ड गौरीटारमा स्थापना गरेको छ । सुविधासम्पन्न उक्त आइशोलेसनको क्षमता १ सय ५० सम्म रहेको खुलालको भनाई रहेको छ ।
यसैगरि बागमती गाउँपालिकाले १० बेड, बकैया गाउँपालिकाले २० बेड, मकवानपुरगढी गाउँपालिकाले १५, इन्द्रसरोबर गाउँपालिकाले १२, थाहा नगरपालिकाले चालु अवस्थामा २० र तयारी थप २० गरि ४०, कैलाश गाउँपालिकाले १० तथा अवको एक हप्तामा प्रयोग हुने गरी राक्सीराङ गाउँपालिकाले २० बेडको आइसोलेशन तयार गरेका छन् ।
























