मकवानपुरमा पनि लकडाउन हुने संकेत
हेटौंडा, बैशाख १५। पछिल्लो केहि हप्ता एता बागमती प्रदेशको राजधानी हेटौंडा सहित देशभर कोरोना संक्रमण उच्च दरले बढ्नुको साथै संक्रमणको जोखिम बढी रहेको छ ।
सरकारले कोरोना संक्रमण बढ्न नदिन संक्रमणको जोखिमलाई मध्यनज गर्दै देशभरको विभिन्न शहरको शैक्षिक संस्था बन्द गर्नुको साथै देशभरको परीक्षा समेत रोकेको छ । हाल देशको विभिन्न जिल्लामा लकडाउन घोषणा भईरहेको अवस्थामा जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड–१९ संक्रमण रोकथाम,नियन्त्रण तथा व्यवस्थापनले मकवानपुरमा लकडाउन गर्ने संकेत देखाएको छ ।
मकवानपुरमा पछिल्लो दिनहरुमा दैनिक ३ दर्जन संक्रमित थपिदै गएपछि प्रशासनको कोभिड–१९ संक्रमण रोकथाम,नियन्त्रण तथा व्यवस्थापनले संक्रमण बढ्न नदिन जिल्लामा विभिन्न निर्णयहरु गर्दै गए संगै लकडाउनको संकेत देखाएको हो । प्रशासनले करिब दुई हप्ता अघि जिल्लाका सम्पूर्ण स्थानीय तहलाई आइसोलेसन र क्वारेन्टिन तयारी अवस्थामा राख्न आग्रह गरेको थियो ।
प्रशासनले भिडभाड बढ्न नदिन हेटौंडा भित्र चल्ने सवारीमा जोर बिजोर प्रणाली लागू गर्नुको साथै जिल्लाको सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिसकेको छ । प्रशासनले कोरोनाको संक्रमण बढ्दै गएपछि मकवानपुरमा रहेका सम्पुर्ण शैलुन,ब्युटिपार्लर र मदिरा व्यवसाय आजबाट अर्को सुचना नआएसम्मको लागि बन्द गरेको छ ।
मंगलबार जिल्लामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुर उद्योग वाणिज्य संघले सहजीकरण गर्नेगरि शैलुन,ब्यटिपार्लर र मदिरा व्यवसाय बन्द गर्ने निर्णय गरेको हो । साथै धेरै भिड हुने राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखा र यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाको आन्तरिक कार्य बाहेकका अन्य सबै सेवा आजबाट अर्को सुचना नआएसम्मको लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि प्रशासनले संक्रमण बढ्ने जोखिमलाई मध्यनजर गर्दै मकवानपुरका सबै बैंक तथा वित्तिय आलोपालो गरि हप्तामा तीनदिन सुचारु गर्ने जनाएको छ । बैंक तथा वित्तिय संस्थाहरु बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म सुचारु हुने प्रशासनले जनाएको छ । बैंकका एटिएम २४ सै घण्टा सुचारु रहने प्रशासनले जनाएको छ ।
त्यस्तै सहकारी संस्थाहरुले घर तथा पसलमा गई नगद संकलन कार्य अर्को सुचना नआएसम्मको लागि रोक्ने जिल्ला प्रशासन कार्यलय मकवानपुरले सुचना निकालेको छ । साथै सहकारी पनि आलोपालो गरि हप्तामा तीनदिन सुचारु हुने र बिहान ११ बजेबाट दिउँसो २ वजेसम्म सुचारु हुने भएको हो ।
प्रशासनले दिनँहु विभिन्न निर्णयहरु सार्वजनिक गरे संगै जिल्लामा लकडाउन हुने सम्भावना देखिएको हो ।
शहरमा त्रास,गाउँमा शान्तः
पछिल्लो समय पुष्टि भएका संक्रमितमा गाउँमा भन्दा शहरमा बसोबास गर्ने मानिसहरु बढी रहेका छन् । संक्रमणको दर पनि गाउँमा भन्दा शहरमै बढी रहेको देखिन्छ ।
दिनहुँ संक्रमित बढे संगै संक्रमणको जोखिम बढे संगै प्रशासनले सचेत गराउन विभिन्न नियम बनाउँदा परिवारमा त्रास उत्पन्न भएको हेटौंडा–४ बस्ने ४१ वर्षीय रमेश शर्माले बताउँछन् । उनि भन्छन्,‘कोरोना संक्रमण बढ्दै छ,प्रशासन विभिन्न नियम बनाउँदै सचेत गराउँदै छ,सचेत गराउनु ठिक हो तर लकडाउनको गराउने नियमको संकेत देखाउँदा लकडाउन हुन्छ भन्ने डर छ ।
यसैगरि हेटौंडा बुद्धचोक नजिक कपडा व्यापार गर्ने व्यवसायीहरुले पनि प्रशासनले लकडाउन गराउने संकेत देखाएको बताए । उनिहरुले संक्रमण बढन् नदिन लकडाउन अन्तिम विकल्पको रुपमा प्रयोग गर्न आग्रह गरेका छन् ।
यता गाउँमा कोरोना संक्रमणको कुनै त्रास नभएको उत्तरी मकवानपुरको कालिकाटारका ५३ वर्षीय हरिचन्द्र रिजाल बताउँछन् । उनिले आफु अहिले सम्म बिरामी नभएको र कुनैपनि किसिमको औषधी खानु नपरेको बताउँदै कोरोनाको हल्ला सुने पनि डर भने नलागेको प्रतिक्रिया दिए । यसैगरि भीमफेदी-९ का दिपक प्रजाले पनि गाउँमा कोरोना संक्रमणको जोखिम नभएको बताए । उनले भने,‘गाउँमा शहरमा जस्तो कोरोना संक्रमणको डर र हल्ला छैन । हामी दैनिक ज्यालादारी गरेर खाने मान्छे,दैनिक काममा खटिरहेका हुन्छौ ।
त्यस्तो अघिल्लो वर्षको कोरोना संक्रमणको हल्ला र हालचालको संक्रमण फैलिएको हल्लामा केहि फरक छैन् । केहि महिना हराएको थियो अहिले फेरी संक्रमण तिब्र बढ्यो रे भनेर चाइ समाचारमा सुनेका छौ।’
यसैगरि कैलाश–१० का २५ वर्षीय सोमलाल मोक्तान पनि शहरको तुलनामा गाउँमा कोरोनाको त्रास कम भएको बताउँछन् । उनि भन्छन्,‘गाउँमा कोरोनाको डर त्यति छैन । यहाँका मानिसलाई लागेको पनि सुनेका छैनौ । कोरोनाले गर्दा गाउँका विद्यालय पनि एक महिनाको लागि बन्द भनेर चाई सुनेका छौ । मेरा बच्चा पनि तल बसामाडीमा पढ्छन् अहिले घर आएका छन् । बच्चाहरु भने डराएको महसुस गरेको छु । गाउँमा कोरोनाको सचेतना गर्न कुनैपनि निकाय अघि सरेको देखेका छैनौ ।’
यसैगरि कैलाश भार्ताका जेष्ठ नागरिक ८५ वर्षीय बुद्धिमान घिसिङ भने कोरोना भाइरसको नामनै नसुनेको बताउँछन् । उनले पहिलो पटक कोरोना शब्द सुनेको प्रतिक्रिया दिए । उनि भन्छन्ः कोरोना शब्दको नाम पहिलो पटक सुन्दै छु,गाउँमा कोरोनाबारे के छ,कसरी भनौ रु गाउँमा कसैले यो नाम लिएको थाहा छैन,तपाईले भन्दा मात्र थाहा पाए ।’
यसअर्थ गाउँमा भन्दा शहरमा कोरोनाको डर बढी रहेको बुझ्न सकिन्छ । पछिल्लो २४ घण्टामा मकवानपुरमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३६ जना हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौंडा बस्ने जिल्ला बाहिरका एकएक जना रहेका छन् ।
मकवानपुरमा आजको दिनमा २ सय ३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा १ सय ९४ जना होम आइसोलेसनमा,७ जना हेटौंडा अस्पतालको कोभिड ट्रिटमेन्ट वार्डमा र गौरिटार आइसोलेसनमा २ जना उपचाररत रहेका छन् । मकवानपुरमा कोरोनाको कारण हालसम्म ३५ जनाको ज्यान गएको छ ।
























