मुख्यमन्त्रीद्वारा बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार, आजै सपथ ग्रहण गरिने
बैशाख १५, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको मन्त्रिवपरिषद् विस्तार गर्नु भएको छ । खाली रहेका तीन मन्त्रालयमा मन्त्री र राज्यमन्त्री समेत थप गर्नु भएको हो । नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण आजै अपरान्ह ४ बजे हुने भएको छ ।
नयाँ मन्त्रीहरुको नाम भने अझै पनि मुख्यमन्त्री कार्यालयले खुलाएको छैन । दिउसो ४ बजेका सपथग्रहण गर्नका लागि प्रदेश प्रमुखको कार्यालयमा समय मिलाइएको छ । मन्त्री बन्नेमा प्रमुख सचेतक केशवराज पाण्डे, सरेश नेपाल, चन्द्र लामा र सरस्वती बस्नेतको नाम यसअघिनै चर्चामा थियो । नयाँ मन्त्रीहरुको सपथ ग्रहण प्रदेश प्रमुखको कार्यालयमा हुने छ ।
नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा १० पुसमा तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिँदा तत्कालीन आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएपछि बागमतीका तीन मन्त्रालय मन्त्रीविहिन छ ।
तीनवटै मन्त्रालय मुख्यमन्त्री पौडेलले सम्हाल्दै आउनुभएको थियो । करिब चार महिना मन्त्रीविहिन रहेको मन्त्रालयको जिम्मेवारी सत्तारुढ नेकपा एमाले ओली पक्षका सांसदलाई दिइने भएको छ । प्रदेश सरकार गठनपछि हालसम्म राज्यमन्त्री नियुक्त नगरिएको बागमतीको मन्त्रालयमा राज्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ ।
राज्यमन्त्री समेत नियुक्त गरिने भएपनि को को नियुक्त हुन्छन् भन्ने अहिले सम्म टुङ्गो लागिसकेको छैन ।
























