संक्रमणको जोखिमबाट बच्न हेटौंडा बजार आंशिक रूपमा बन्द
बैशाख १७, हेटौंडा । हटौंडामा कोरोना संक्रमितका विरामी बढ्दै गएपछी यसको नियन्त्रणका लागि प्रयास थालिएको छ । मानिसको वढी जमघट हुने सरकारी कार्यालय र बजार बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशन अनुसार नागरिकको भीड हुने कार्यालय, बजारका अत्याबस्यक भन्दा बाहेकका केही पसल बन्द गरिएको छ । मकवानपुर जिल्लाभरीका सरकारी तथा निजी बिद्यालय, क्याम्पस बन्द गरिएको छ । कोरोना संक्रमण दर बढ्दै गएपछी हेटौंडाका सवारी साधनमा जोर विजोर गरिएको छ ।
कोरोना संक्रमणको जोखिमबाट बच्न हेटौंडा बजार आंशिक रूपमा बन्द भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सेवाग्राहीको भीडभाड हुने सेवा कार्यालयका काम बन्द गरेको हो । सैलुन, ब्युटीपार्लर र मदिरा पसल बन्द छन् । प्रशासन कार्यालयले सेवाग्राहीको अत्यधिक भीड हुँदा कोरोना संक्रमण रोक्न सकस पर्ने भन्दै राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय हेटौंडा, यातायात व्यवस्था सेवा कार्यालय, मालोपात र नापी कार्यालय बन्द गरेको छ ।
कार्यालय बन्द भए पनि आन्तरिक कार्य भने गरिने जानकारी प्रशासनले दिएको छ । जिल्ला प्रशासनका प्रवक्ता देवचन्द्र गर्तौलाका अनुसार बैंक तथा वित्तीय संस्थालाई आलोपालो गरेर सञ्चालन गर्न निर्देशन दिइएको छ । बैंक तथा वित्तीय संस्था आलोपालोमा सञ्चालन भएसँगै सेवाग्राहीको भीड लाग्न थालेको छ । ती संस्था हप्तामा तीन दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न र त्यसको व्यवस्थापन गर्न बैंकर्स एसोसिएसनलाई जिम्मेवारी दिइएको छ । एटीएम सेवाहरू भने चौबीसै घण्टा खुला हुनेछन् ।
सहकारी संस्थाले सेवाग्राहीको घर तथा पसलबाट नगद संकलन गर्ने कार्य रोकी हप्तामा तीन दिनमात्र खोल्न पाउने छन् । ‘खाद्यान्न तथा तरकारी पसल पनि विहानको समयमा मात्र खोल्ने व्यवस्था मिलाएका छौं,’ उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवालले भने ।
हाल बजार क्षेत्रमा अन्य समयको तुलनामा भीडभाड ज्यादै न्यून छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार मकवानपुरका स्थानीय तहमा आइसोलेसन वार्डको तयारी गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये ८ तहमा अक्सिजनसहितको आइसोलेसन व्यवस्थापन भइसकेको छ ।
एक स्थानीय तहमा भने चाँडै व्यवस्थापन गरिने तयारी भएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ ।
























