मकवानपुरका ७ स्थानीय तहमा एन्टीजेन विधिबाट परीक्षण सुरु
बैशाख १७, हेटौंडा । मकवानपुरको १० वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहले एन्टीजेन विधिबाट कोरोना परीक्षण सुरु गरेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी ठाकुर पौडेलका अनुसार मकवानपुरका ७ वटा स्थानीय तहले स्थानीय स्तरमै परीक्षणको लागि २ हजार ७५ एन्टीजेन किट लिएका छन् ।
जनस्वास्थ्यबाट आएको ३ हजार एन्टीजेन किट मध्ये २ हजार ७५ किट विभिन्न स्थानीय तहले लिएको सूचना अधिकारी पौडेलले बताए ।
उनका अनुसार सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाले १२ सय थान एन्टीजेन किट लिएको छ भने थाहा नगरपलिका र मनहरी गाउँपालिकाले ३र३ सय किट लिएका छन् ।
यसैगरि कैलाश,बागमती र मकवानपुरगढी गाउँपालिकाले ७५र७५ थान किट लिएका छन् भने ५० थान किट इन्द्रसरोबर गाउँपालिकाले लिएको छ । यसैगरि हेटौंडा अस्पतालले १ सय थान किट लिएको सूचना अधिकारी पौडेलले बताए ।
उनका अनुसार अब जिल्ला जनस्वास्थ्य कार्यलयममा ८ सय २५ थान किट बाँकी रहेको छ । उनका अनुसार मकवानपुरको बकैया,भीमफेदी र राक्सिराङ गाउँपालिका बाहेक सबै स्थानीय तहमा एन्टीजेन विधिबाट कोरोना परीक्षण भइरहेको छ ।
मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ४ हजार २ सय ४० जना पुगेको छ । मकवानपुरमा हालसम्म ३ हजार ८ सय ८० जना संक्रमण मुक्त भइसकेका छन् ।
मकवानपुरमा आजको दिनमा ३ सय २५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ३१० जना घरमा,९ जना हेटौंडा अस्पतालको आईसियूमा र ६ जना गौरिटार आइसोलेसनमा उपचाररत रहेका छन् ।
मकवानपुरमा कोरोनाबाट हालसम्म ३५ जनाको मुत्यु भएको छ ।
























