मकवानपुरका स्थानीय तह कोरोना नियन्त्रणमा एकजुट भएर लाग्ने प्रतिबद्धता
बैशाख २७, हेटौंडा – आईतबार जिल्ला समन्वय समिति मकवानपुरद्धारा आयोजित स्थानीय तह समन्वय बैठकमा स्थानीय तहका जनप्रतिनिधिहरुले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहका प्रमुखहरुले जिल्लामा परिस्थिति जटिल बन्दै गएको हुँदा स्वास्थ सुरक्षाको पालना गर्न मकवानपुरबासीमा आव्हान गरेका हुन् । बैठकमा स्थानीय तहका प्रमुखहरुले आ–आफ्नो स्थानीय तहको अवस्था तथा तयारीका विषयमा जानकारी समेत गराएका थिए । बैठकमा स्थानीय तहका प्रमुखहरुले शहरबाट गाउँमा जानेबाट संक्रमणको जोखिम बढेको, कन्ट्रयाक ट्रेसिङ् बढाउनुपर्ने, सेवा प्रवाहमा चुनौति बढेको, कोभिड बाहेकका बिरामीको उपचारमा समस्या सृजना भएकोलगायत विभिन्न समस्याहरु रहेको जानकारी गराएका थिए ।
बैठकले स्थानीय तहको समस्या समाधानका लागि जिल्ला समन्वय समितिले समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ । तीनै तहको सरकारसंग परामर्श गरेर जिल्ला सदरमुकाममा कोभिड अस्पताल सञ्चालनका लागि पहल गर्ने विषयमा छलफल गर्नुका साथै स्थानीय तहसंग भएका स्वास्थय जनशक्तिबाट हेटौंडा अस्पताललाई आवश्यक पर्ने जनशक्ति उपलब्ध गराउने निर्णय गरेको छ । त्यसका लागि हेटौडा अस्पतालले कस्ता जनशक्ति आवश्यक पर्ने हो सोको माग स्थानीय तहसंग गर्ने निर्णय भएको जिसस प्रमुख खुलालले जानकारी दिए ।
अस्पतालको सेवा विस्तार गर्नुपरेमा कस्ता जनशक्ति आवश्यक पर्ने हो सो जनशक्ति अस्पतालले माग गर्ने र स्थानीय तहसंग त्यस्ता जनशक्ति भएमा अस्पताललाई उपलब्ध गराउने निर्णय भएको उनले बताए । साथै बैठकले सचेतना फैलाउनेलगायत माहामारी नियन्त्रणमा स्थानीय तहहरु सकृय भएर लाग्ने निर्णय गरेको उनले बताए । त्यस्तै बैठकमा जिल्ला समन्वय समितिको मौजदात कोषको रकम रोक्का गरेको विषयमा जिसस प्रमुख खुलालले जानकारी गराएका थिए ।
बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना लामा, थाहा नगरपालिकाका मेयर लबशेर विष्ट, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, राक्सिराङ् गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बकैया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनी लगायतको उपस्थिती थियो ।
























