कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
बैशाख २८, काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत पुर्याउन नसकेपछि सरकार गठनमा दाबी गरेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पदाधिकारी बैठक डाकेको छ । पछिल्लो परिस्थितिमा कसरी अघि बढ्ने भनेर रणनीति तय गर्न मंगलबार पदाधिकारी बैठक डाकिएको हो ।
दिउँसो २ बजे सर्वदलीय बैठक बस्ने भनिए पनि कांग्रेसले पहिले पदाधिकारी बैठकबाट रणनीति तय गर्न लागेको सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले बताए । ‘आज पहिला पदाधिकारी बैठक बस्दै छ,’ उनले भने, ‘सर्वदलीय बैठकको टुंगो छैन ।’
प्रधानमन्त्री ओली संसद्मा विश्वासको मत पाउन असफल भएपछि सोमबार मात्र सभापति विपक्षी तीन दलका नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् । त्यसअघि कांग्रेस र माओवादीबीच धारा ७६ को उपधारा २ अनुसार सरकार गठनमा दाबी गर्ने समझदारी गरेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतबीच कांग्रेस संसदीय दलमा भएको छलफलमा यस्तो समझदारी बनेको थियो ।
























