गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः गुरुङ नियुक्त
हेटौंडा, बैशाख ३० – नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सिता कुमारी पौडेलेले गुरुङलाई बुधबार साँझ प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
नवनियुक्त मुख्यमन्त्री गुरुङले पद तथा गोपनियताको शपथ लिइसकेका छन् । नेपाली कांग्रेस सहितको चार दलको गठबन्धनले बहुमत पु¥याउन नसकेपछि गण्डकी प्रदेशको नयाँ सरकार पृथ्वीसुब्बा गुरुङ नेतृत्वमा बन्ने भएको हो । प्रदेश प्रमुख पौडेलले प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आव्हान गरेपछि गुरुङ दोश्रो पटक मुख्यमन्त्री बनेका हुन् ।
वैशाख २६ गते राजीनामा गरेका गुरुङ वैशाख २७ र २८ गते कार्यवाहक मुख्यमन्त्री भएका थिए । मुख्यमन्त्री पदबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले वैशाख २६ गते बहुमतको सरकार गठनका लागि दलहरुलाई बुधबार ४ बजेसम्मको समय सिमा सहित आव्हान गरेकी थिइन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउने प्रयास गरेपनि जनमोर्चाका कृष्ण थापाले साथ नदिई तर्केसँगै गुरुङ मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री बनेसंगै गुरुङले प्रदेश सभाबाट एक महिना भित्रमा विश्वासको मत लिनु पर्नेछ । अन्यथा बहुमतको मत ल्याउन नसके ६ महिना भित्र मध्यावधि निर्वाचनमा जानुपर्ने छ ।
३
























