मेरो उम्मेदवारी फिर्ता हुदैँन-  खिमलाल देवकोटा

बैशाख ३१, हेटौंडा । वाग्मती प्रदेश राष्ट्रिय सभा सदस्यका उम्मेदवार खिमलाल देवाकोटाले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका हुन् । देवकोटा नेकपा एमाले खनाल नेपाल पक्ष, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका तर्फबाट संयुक्त उम्मेदवार हुन् । विभाजनउन्मुख भएका बेला नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा दुई जना उम्मेदवार उठाइएको थियो ।

गृहमन्त्री रामबहादुर थापालाई नेकपा एमालेले आधिकारिक उम्मेदवारका रुपमा उठाएको छ ।तर बिहीबार माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेपछि देवकोटाको उम्मेदवारी के हुन्छ भन्ने प्रश्न उठिरहेका बेला उनले स्पष्टीकरण दिएका हुन् । राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणलगायतका लागि राजनीतिक दलहरु विभाजित हुन नहुने उल्लेख गर्दै उनले आफ्नो उम्मेदवारी कल्पनाभन्दा बाहिरको कुरा भएको बताएका छन् ।

शुक्रबार बिहान उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितिमा यसमा पुर्नविचार गर्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो । निष्ठा र इमान्दारिताको राजनीतिप्रति आफ्नो गहिरो लगाव रहेको भन्दै उनले संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारहरुबिना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा आफू दृढ रहेको बताएका छन् ।

माओवादीबाट राष्ट्रिय सभामा निर्वाचित रामबहादुर थापा एमालेमा प्रवेश गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । राष्ट्रिय सभाअन्तर्गत् वाग्मती प्रदेशतर्फको रिक्त रहेका सदस्य पदमा जेठ ६ गते मतदान हुँदैछ । राष्ट्रिय सभामा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई सूर्य, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल तथा स्वतन्त्र उम्मेदवार डा। खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह प्रदान गरिएको छ ।

हेटौंडा–४ स्थित भुटनदेवी उच्च माविमा मतदानको व्यवस्था मिलाइएको छ । मतदान बिहान नौ बजेबाट दिउँसो ३ बजेसम्म हुनेछ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्नेछन् । उपनिर्वाचनमा प्रदेशसभाका एक सय १० र स्थानीय तहका २३८ गरी कुल ३४८ मतदाता रहेका छन् ।

प्रदेश सभाका एक सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ । इकान्तिपुरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*