आज साँझ ओली र नेपालसहित दुवै पक्षका नेताहरूको वार्ता
काठमाडौं, बैशाख ३१ – नेकपा (एमाले)मा चुलिएको संकट अचानक संवादतर्फ उन्मुख भएपछि दुवै पक्षका शीर्ष नेताहरुसहितको वार्ता हुने तय भएको छ। वार्ता शुक्रबार साँझ हुने तय भएको नेपालपक्षका एक स्थायी कमिटी सदस्यले बताए।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन र पुनः प्रधानमन्त्री बन्नबाट रोक्न सामूहिक राजीनामा दिने निर्क्योलमा पुगेको नेपाल पक्ष बिहीबारदेखि त्यसलाई स्थगन गरेर संवादतर्फ अघि बढेको छ। ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भएको तीन घण्टा लामो वार्ताले परिस्थिति संवादतर्फ मोडेको थियो।
‘संवादहीनता तोडिएर संवाद शुरु भएको छ, यो नै अहिलेको उपलब्धि हो’, नेपालनिकट ती स्थायी कमिटी सदस्यले भने, ‘अहिलेको मुख्य प्राथमिकता लगभग फुटिसकेको पार्टी जोगाउने भएकाले आजै हामी दुवै पक्ष बस्ने टुंगो लागेको छ।’
























