मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलियो – नेता पौडेल
३१ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था श्रृजना हुनुले कयौ संसय उब्जाएको उनले बताए ।शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोश्रो डोज लगाएर बाहिरिदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले मुलुकको राजनीति रहश्यमय बाटो अघि बढेको र सयौ संसयहरु उब्जाएको बताए ।
उनले अझै पनि संसद विघटन गर्ने प्रयत्नै अझै पनि जारी नै रहेको दाबी गरे । ‘झन रहस्यमय बाटो तिर जादै छ । धेरै संसयका कुराहरु छन् । पहिलो कुरो त संसदलाई फाल्ने प्रयत्न अझै पनि जारी छ । त्यो कुरा कसरी समाधान हुन्छ । संसदले पुरा आयु बाँच्न पाउँछ कि पाउँदैन ।’
उनले भने, ‘संविधानले बाँच्न पाउँछ कि पाउँदैन । जनताले बाँच्न पाउँछ कि पाउँदैन । यस्तो कोरोना छ । यो कोरोनाको बीचमा लगेर फेरि तमासाहरु हुन थाल्यो भने फेरि जनता नै बाँच्ने कुरा आउँछ । त्यसकारण जनता बाँच्ने कुराको पनि चिन्ता छ ।’
























